‘सानिमा बैंकमा ६ अर्ब ८४ करोडको घोटाला, प्रश्न उठाउँदा ‘हातखुट्टा भाँचिदिन्छु’ भन्दै धम्की!’

सबल र विश्वसनीय स्लोगनसहित अघि बढेको सानिमा बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त वाणिज्य बैंक हो। तर, पछिल्लो समय बैंकका केही गतिविधि र कार्यशैलीले बैंकको सुशासन, पारदर्शिता र जवाफदेहितामाथि नै गम्भीर प्रश्न उठ्न थालेका छन्। विशेषगरी केही शेयरधनीले बैंकमा ६ अर्ब ८४ करोड रुपैयाँ अपचलन भएको दाबी गर्दै प्रश्न उठाइरहेका छन्। यस्तै, बैंकको साधारणसभा असोज १२ गते सम्पन्न भइसकेको भए पनि त्यसअघि साधारणसभासँग सम्बन्धित सामान्य सूचना माग्दा एक शेयरधनीलाई धम्की दिइएको आरोप समेत सार्वजनिक भएको छ। आखिर बैंकको सुशासनमाथि प्रश्न उठ्ने गरी भइरहेका यी गतिविधि के हुन्? शेयरधनीले उठाइरहेको भनिएको ६ अर्ब ८४ करोड रुपैयाँको विषयको आधार के हो?
यिनै विषयमा केन्द्रित रहेर बीमापोष्टका संवाददाता दिपक विष्टले सानिमा बैंकका शेयरधनी अंगराज भारतीसँग गरेको कुराकानीको अंश:-
तपाईंलाई सानिमा बैंकका कम्पनी सचिवले सामान्य सूचना माग्दा धम्की दिएको विषय बाहिर आएको छ। खासमा के भएको हो ?
यो विषय मैले बैंकको साधारण सभामै उठाएको छु। अहिले अन्तर्वार्ता दिइरहँदा पनि मेरो ज्यानको सुरक्षा हुन्छ भन्नेमा म विश्वस्त छैन। मलाई सांघातिक आक्रमण गर्ने योजना सानिमा बैंकले बुनिरहेको छ भन्ने मेरो आशंका छ। कम्पनी सचिवसहितको टिमबाटै मलाई धम्की दिइएको हो।
भदौ २२ गते मैले कम्पनी सचिवलाई फोन गरेको थिएँ। वार्षिक साधारण सभासँग सम्बन्धित केही जिज्ञासा थियो। हाम्रा चिनजानका साथीहरूलाई समेत सञ्चालक पदमा उम्मेदवार बनाउन सकिन्छ कि भनेर बैंकको प्रावधान बुझ्न फोन गरेको थिएँ।
मैले साँझ करिब ७ः१० बजे फोन गरेको थिएँ। साधारण सभासम्बन्धी सूचना भदौ १९ गते नै प्रकाशित भइसकेको थियो। तर बैंकको वेबसाइटमा राखिएको थिएन। मैले साधारण सभामा सञ्चालकको निर्वाचन हुँदैछ, उम्मेदवारी दिने समय कहिले हो भनेर सोध्दा कम्पनी सचिवले ‘जानकारी हुन्छ’ मात्रै भन्नुभयो। हाम्रा साथीहरू सञ्चालक पदमा उठ्ने तयारी गरिरहेका छन्, त्यसैले समयमै जानकारी दिनुहोस् भनिरहेँ। उहाँले फेरि ‘जानकारी हुन्छ’ मात्रै भन्नुभयो।
यसरी सूचना लुकाउने भनेर मैले कम्पनी सचिवलाई भनेको थिए ।
उहाँले सूचना लुकाउनुभयो भनेर कसरी भन्न सक्नुहुन्छ? बैंकले निर्णय गर्न बाँकी रहेकाले पछि जानकारी हुन्छ भनेको पनि हुन सक्छ नि?
मैले २२ गते फोन गरेको थिएँ। यदि २३ गते नै उम्मेदवारी दर्ताको अन्तिम समय रहेछ भने हामीले उम्मेदवार तयार गर्ने अवसर नै पाउँदैनथ्यौँ। त्यसैले सूचना लुकाउने नियतले सञ्चालक पदमा अरू कोही नआओस् भन्ने उद्देश्य राखेर उम्मेदवारीको ढोका नै बन्द गरिदिने काम भएको मेरो बुझाइ हो।
तपाईंले कम्पनी सचिवले ‘खुट्टा भाँचिदिन्छु’ भन्दै धम्की दिएको आरोप लगाउँदै बैंकसमक्ष कारबाहीको माग गर्नुभएको छ। यति सामान्य सूचना माग्दा त्यस्तो अवस्था कसरी आयो?
मैले जानकारी माग्दा उहाँले ‘जानकारी हुन्छ’ मात्रै भन्नुभयो। साधारण सभाको सूचना अहिलेसम्म वेबसाइटमा राखिएको छैन, पछि उम्मेदवारीसम्बन्धी सूचना आउँछ भनेर कसरी विश्वास गर्ने भनेर मैले भनेँ।
त्यस क्रममा मैले ‘सूचना नलुकाउनुहोस्, साधारण सभामा थप्पड हान्नु नपरोस्’ भनेको हुँ। त्यसपछि उहाँले ‘तँलाई पुलिस केस गरेर हातखुट्टा भाँचिदिन्छु’ भन्नुभयो । त्यसपछि कम्पनी सचिवको हातबाट मोबाइल अर्का व्यक्तिले खोसेर मलाई धम्की दिएका हुन् ।
कम्पनी सचिव आफैंले तपाईंलाई धम्की दिनुभएको होइन भन्ने हो?
मैले साधारण सभामा थप्पड हान्छु भनेपछि उहाँको मोबाइल अर्का व्यक्तिले खोसेर धम्की दिएका थिए। मैले पटक–पटक सम्बन्धित व्यक्तिसँग कुरा गराइदिनुहोस् भनेँ। तपाईं र मेरो व्यक्तिगत कुरा होइन, सम्बन्धित व्यक्तिसँग मैले जवाफ मागेको हुँ भनेँ।
जवाफ दिन नसक्ने भए किन जागिर खाइरहनुभएको हो भनेर पनि मैले भनेँ। त्यसपछि फोन काटियो।
तपाईंलाई कुराकानी गर्नुअघि कम्पनी सचिवसँग पनि कुरा भएको थियो। रातिको समय थियो, उहाँ परिवारसँग हुनुहुन्थ्यो होला। एक्कासि फोन गरेर त्यस्ता शब्द प्रयोग गर्नु उचित थियो?
मैले सामान्य सूचना मागेको हुँ। त्यसमा कसैलाई धम्की दिने वा व्यक्तिगत रूपमा आक्रमण गर्ने मेरो उद्देश्य थिएन।
तर उहाँ त्यस समयमा परिवारसँग हुनुहुन्थ्यो भन्ने कुरा म मान्दिनँ। उहाँको मोबाइल खोसेर मलाई हातखुट्टा भाँचिदिन्छु भनेर धम्की दिने व्यक्ति अंगराजलाई चिन्ने व्यक्ति हो। उहाँको परिवारले मलाई चिनेको हुँदैन। त्यसैले बैंककै आधिकारिक व्यक्तिले फोनमा कुरा गरेको मेरो बुझाइ छ।
यस विषयमा टेलिकमबाट कल रेकर्डसमेत मगाएर अनुसन्धान गर्न सकिन्छ।

तपाईं सामान्य शेयरधनी हुनुहुन्छ। एउटा वाणिज्य बैंकले तपाईंलाई सूचना नदिनुपर्ने कारण के थियो? सूचना किन लुकाइयो होला?
सानिमा बैंकमा करिब ६ अर्ब ८४ करोड रुपैयाँको घोटाला भएको मेरो अध्ययनले देखाएको छ। मैले बैंकबाट मागेको विभिन्न तथ्यांक र सूचनाबाटै उक्त रकम अपचलन भएको देखिन्छ।
मैले यही विषयमा सूचना मागिरहेको छु। यदि भोलि मैले समर्थन गरेको वा मैले चिन्ने व्यक्ति सञ्चालक बनेर बैंकभित्र गए भने यस्ता विषयको पर्दाफास हुन सक्छ। त्यसैले बैंकले सूचना लुकाउने गरेको मेरो दाबी हो।
बैंकमाथि यति ठूलो आरोप लगाउनुभएको छ। ६ अर्ब ८४ करोड रुपैयाँ घोटाला भएको प्रमाण तपाईंसँग के छ?
मैले बैंकबाट मागेको सूचनामै यसको आधार छ। उदाहरणका लागि, २०७५ साल असोज महिनाको अन्त्यसम्म जलविद्युत् शीर्षकमा २ अर्ब ६६ करोड रुपैयाँ कर्जा रहेको भनेर बैंकले लिखित रूपमा सूचना दिएको छ।
सामान्य लेखा प्रणालीअनुसार असोज महिनाको क्लोजिङ अर्थात् अन्तिम मौज्दात कात्तिक महिनाको ओपनिङ अर्थात् सुरुवाती मौज्दात हुनुपर्ने हो। तर कात्तिकको ओपनिङ हेर्दा झन्डै ३४ करोड रुपैयाँको हिसाब देखिँदैन।
मैले हिसाब नमिलेको विषयमा फेरि सूचना मागेँ। त्यसपछि बैंकले कात्तिकको ओपनिङ ३ अर्ब १ करोड रुपैयाँ देखाएको छ। असोजको क्लोजिङ र कात्तिकको ओपनिङ एउटै हुनुपर्नेमा यहाँ हिसाब मिलेको देखिँदैन।
मैले फेरि बैंकलाई यही विषयमा प्रश्न गरेँ। बैंकबाट ‘हाम्रो हिसाब यही हो’ भन्ने जवाफ आयो। हिसाब गर्ने व्यक्ति बैंक छाडेर गइसकेको भन्ने जवाफ पनि दिइयो। विभोर झा भन्ने व्यक्तिले यही जवाफ दिनुभएको हो।
अर्को उदाहरण प्रशोधन शीर्षकको हो। त्यहाँ एक रुपैयाँ पनि भुक्तानी नगरेको भनेर सूचना दिइएको छ। तर हिसाब हेर्दा करिब ७ करोड रुपैयाँ तलमाथि देखिन्छ। फेरि हिसाब नमिलेको कुरा उठाउँदा ‘तपाईंलाई गलत सूचना गएछ, हुनुपर्ने ७ करोड नै हो’ भनेर जवाफ दिइयो।
मैले ३६ महिनाको अध्ययन गरेको छु। त्यस क्रममा २४ महिनाको हिसाबमा गडबडी देखिएको छ। मैले प्रश्न गरेपछि बैंकले हिसाब सच्याएर नयाँ सूचना दिने गरेको छ। जसरी हिसाब मिल्छ, त्यसरी नै सूचना पटक–पटक सच्याउने काम भइरहेको छ। मसँग यसका प्रमाण छन्।
असुलीको विषयमा पनि समस्या छ। बैंकमा रकम आएको तथ्यांकसमेत स्पष्ट रूपमा दिइएको छैन। त्यसबाट पनि रकम अपचलन भएको विषय प्रमाणित हुनुपर्ने मेरो दाबी छ। यिनै कुरामा निरन्तर प्रश्न उठाइरहेको हुँदा मलाई बैंकले धक्की दिएको मेरो बुझाइ छ ।
तपाईंसँग प्रमाण छ भने बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकमा जानुभएको छैन?
राष्ट्र बैंकले बेला–बेला बैंकहरूलाई कारबाही गरेको विषय देखाउने दाँत मात्रै हो। राष्ट्र बैंक पनि आफ्नो स्वार्थअनुसार चलेको मेरो बुझाइ छ।
कम्पनी सचिवबाट आएको धम्कीका विषयमा समेत मैले उजुरी दिएको थिएँ। तर अहिलेसम्म कुनै जवाफ आएको छैन। राष्ट्र बैंकले कारबाही गर्दैन।
यसको एउटा कारण अहिले सानिमा बैंकको सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला हुनुहुन्छ, जो नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भइसक्नुभएको व्यक्ति हुनुहुन्छ।
उहाँ कार्यकारी निर्देशक हुँदाकै समयमा मैले सानिमा बैंकसँग सम्बन्धित एउटा उजुरी दिएको थिएँ। त्यतिबेला उहाँले कारबाही गर्नुभएन। त्यो बेला कारबाही भएको भए अहिले उहाँ सानिमा बैंकको सञ्चालकमा आउनुहुन्थ्यो कि हुन्नथ्यो भन्ने प्रश्न पनि उठ्छ।
मेरो बुझाइमा राष्ट्र बैंकका पदाधिकारीहरू अवकाशपछि बैंक तथा वित्तीय संस्थामा जाने बाटो सुनिश्चित गर्नका लागि प्रभावकारी कारबाही गर्दैनन्।
नेपाल राष्ट्र बैंक देशको बैंकिङ नियमन गर्ने सबैभन्दा शक्तिशाली निकायमध्ये एक हो। यस्तो निकायमाथि यति गम्भीर आरोप लगाउनु उचित होला?
मैले देखेको र भोगेको आधारमा कुरा गरिरहेको छु। धेरै कुरा देखाउने दाँत मात्रै बनेका छन्।
यदि नियामकले प्रभावकारी रूपमा काम गरेको भए राष्ट्र बैंकको कार्यकारी निर्देशक भइसकेको व्यक्ति बैंकको सञ्चालकमा कसरी पुग्छ भन्ने प्रश्न उठ्दैनथ्यो।
अर्को एउटा बैंकमा पनि यस्तै घटना रहेको मेरो जानकारी छ। यिनै विषयले पनि नियामक र बैंकिङ क्षेत्रबीचको सम्बन्धबारे गम्भीर प्रश्न उठाउँछन्।
मैले उठाएका विषय व्यक्तिगत विवादका लागि होइनन्। बैंकबाट मागिएको सूचना, त्यसमा देखिएको हिसाबको अन्तर र त्यसपछि दिइएका फरक–फरक जवाफका आधारमा प्रश्न उठाएको हुँ। साधारण शेयरधनीले आफ्नो लगानी रहेको संस्थासँग सूचना माग्न पाउनुपर्छ। मैले त्यही अधिकार प्रयोग गरेको हुँ ।











