नेपाल एयरलाइन्सका ६ पाइलटले एकैपटक दिए राजीनामा

काठमाडौं । नेपाल वायुसेवा निगमका ६ जना पाइलटले एकैपटक राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहकको उडान व्यवस्थापनमा दबाब बढेको छ । राजीनामा दिनेमा वाइडबडी जहाजतर्फ दुई क्याप्टेन र तीन कोपाइलट छन् भने न्यारोबडी उडाउने एक कोपाइलट रहेका छन् ।
वाइडबडीका क्याप्टेन सञ्जय पौडेल र प्रशान्त श्रेष्ठसँगै कोपाइलट प्रणव मल्ल, रविन्द्र जोशी र रेशिमा सिजापति तथा न्यारोबडीका कोपाइलट मनिश विक्रम शाहले राजीनामा दिएको निगम स्रोतले जनाएको छ ।
पाइलटहरूले निगममा उपलब्ध सेवा–सुविधा, पारिश्रमिक तथा व्यवस्थापनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ । यद्यपि, उनीहरूको राजीनामा निगम व्यवस्थापनले हालसम्म स्वीकृत गरिसकेको छैन । निगमका निमित्त कार्यकारी प्रमुख जनकराज कालाखेतीले सबै राजीनामा तत्काल स्वीकार गर्दा पर्याप्त जनशक्ति नहुँदा उडान सञ्चालनमै असर पर्न सक्ने बताएका छन् । त्यसैले अनुभवी पाइलटलाई निगममै कायम राख्न थप सुविधा उपलब्ध गराउने विषयमा समेत व्यवस्थापन दबाबमा परेको देखिन्छ ।
निजी वायुसेवा कम्पनीमा कार्यरत समान तहका पाइलटको तुलनामा निगमका चालक दलको पारिश्रमिक निकै कम रहेको गुनासो लामो समयदेखि रहँदै आएको छ । निजी क्षेत्रका क्याप्टेनले मासिक करिब १२ देखि १५ लाख रुपैयाँसम्म पाउने अवस्थामा निगमका पाइलटले त्यसको तुलनामा निकै कम, करिब ४ देखि ५ लाख रुपैयाँ आसपास पारिश्रमिक पाउने अवस्था रहेको बताइन्छ । अन्तर्राष्ट्रिय उडान गर्ने विदेशी कम्पनीका पाइलटको आम्दानीसँग तुलना गर्दा पनि निगमका पाइलटको सुविधा आकर्षक नरहेको देखिन्छ । यही कारण दक्ष जनशक्ति टिकाउन निगमलाई थप चुनौती देखिएको छ ।











