भाटभटेनीमा दसैं किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैं नजिकिएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ । दसैं, तिहार हुँदै छठसम्मको चाडपर्वलाई लक्षित गर्दै देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् ।
योजनाअन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि शाखाबाट एकपटकमा २ हजार ५ सय रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक भाग्यशाली चिठ्ठामा सहभागी हुन पाउनेछन् । खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता गरिनेछ । योजनाको अन्त्यमा भाग्यशाली चिठ्ठामार्फत एक जना विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै, भाटभटेनीबाट सामान खरिद गरी नेपाल पेबाट क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले पनि नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन् । कम्पनीका अनुसार यस चाडपर्वको अवधिमा भाटभटेनीमा किनमेल गर्ने ग्राहकले दुई वटा नयाँ टाटा पन्च ईभी जित्न सक्नेछन् ।
योजनाको मुख्य आकर्षणका रूपमा रहेको नयाँ टाटा पन्च ईभी नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको आधुनिक विद्युतीय एसयूभी भएको कम्पनीले जनाएको छ । नयाँ पन्च ईभीमा सहज विद्युतीय ड्राइभिङसँगै प्रविधि, सुरक्षा, आराम र सुविधालाई विशेष प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।











