रिलायबल नेपाल लाइफको अत्तरिया शाखाद्वारा मृतकका परिवारलाई १० लाख ५७ हजार रुपैयाँ दाबी भुक्तानी

३ मंसिर २०८३, बिहीबार १०:३५

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखाले बीमितको आकस्मिक मृत्युपछि परिवारलाई १० लाख ५७ हजार ७५० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले सुलभ जीवन बीमा योजनाअन्तर्गत बीमा गरेका डम्बरबहादुर बुढाको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो।

बुढाले कम्पनीको अत्तरिया शाखाबाट १० लाख रुपैयाँ बीमाङ्कको सुलभ जीवन बीमा पोलिसी खरिद गरेका थिए। उनले बीमाबापत दुई किस्ता रकम मात्र जम्मा गरेका थिए। यसैबीच २०८३ साउन २४ गते घरमै अचानक बेहोस भएपछि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो।

बीमा पोलिसीमा व्यवस्था भएअनुसार मृतकको परिवारले बीमाङ्क रकम, मृत्यु सुविधाबापतको रकम तथा बोनससहित कुल १० लाख ५७ हजार ७५० रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ। मृतककी श्रीमती पार्वती बुढा, छोरा तथा आफन्तको उपस्थितिमा अत्तरिया शाखाका प्रमुख मोहनबहादुर बोहरा र चिफ एजेन्सी म्यानेजर प्रेम साउदले चेकमार्फत दाबी भुक्तानी हस्तान्तरण गरेका हुन्। कार्यक्रममा प्रदेश प्रमुख चन्द्रबहादुर विष्टलगायतको पनि उपस्थिति रहेको थियो।

शाखा प्रमुख बोहराका अनुसार आवश्यक कागजात पेस भएपछि छोटो समयमै दाबी प्रक्रिया पूरा गरी रकम भुक्तानी गरिएको हो। उनले अत्तरिया शाखाबाट प्राप्त दाबीहरू नियमित रूपमा समयमै भुक्तानी गर्दै आएको उल्लेख गर्दै बीमित तथा अभिकर्ताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा चिफ एजेन्सी म्यानेजर प्रेम साउदले मृतकलाई आफूले बीमा गर्न प्रोत्साहित गरेको स्मरण गर्दै परिवारलाई कठिन समयमा आर्थिक सहयोग उपलब्ध गराउन पाउँदा बीमाको महत्व अझ महसुस भएको बताए। उनले बीमा कसैको दबाबमा नभई यसको आवश्यकता र महत्व बुझेर स्वेच्छाले गर्न स्थानीयवासीलाई आग्रह गरे।

शाखा प्रमुख बोहराले बीमाले आर्थिक सुरक्षा प्रदान गर्नुका साथै नियमित बचत गर्ने बानीको विकासमा समेत सहयोग पुर्‍याउने बताए। सुख र दुःख दुवै अवस्थामा परिवारलाई आर्थिक सहारा दिन सक्ने भएकाले जीवन बीमालाई भविष्यको आर्थिक सुरक्षासँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*