नेपाल लाइफद्वारा बीमितमाथि अत्याचार, फैसला कार्यान्वयन नगरी झुठो बक्तव्य

८ मंसिर २०८३, मंगलवार १५:५१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उक्त कम्पनीमा बीमा गरेका बीमितलाई दावी भुक्तानी नदिन कतिसम्म जालझेल गर्दछ भन्ने तथ्य हेर्न आज प्रकाशित बक्तव्य हेरे पुग्छ ।

नेपालको प्रचलित कानुन बमोजिम दुई तहको अदालतबाट एकै प्रकृतिको फैसला भइसकेपछि सो फैसला अन्तिम हुन्छ । सर्वोच्च अदालतमा नियमित पुनरावेदन समेत गर्न पाइदैन । यस्तो अन्तिम फैसला तत्कालै र बिना शर्त कार्यान्वयन गर्नुपर्दछ, अन्यथा कम्पनीका व्यवस्थापक र सञ्चालकहरुले अवहेलना मुद्दाको समेत सामना गर्नुपर्ने हुनसक्दछ ।

बीमित ईन्द्र बहादुर रिजाललाई घातक रोग बापत भुक्तानी गर्नुपर्ने १५ लाख रुपैयाँका फैसला कार्यान्वयन गरी तत्काल भुक्तानी दिनुपर्ने रकम नदिई उल्टै झुठो विज्ञप्ति जारी गरेर बीमित र बीमा अभिकर्ताहरुलाई प्रचार गर्न लगाएको पाइएको छ ।

सुरु अदालत बीमा प्राधिकरण र उच्च अदालतबाट कुनै पनि मुद्दा अन्तिम किनारा लागिसेपछि कार्यान्वयनमा जानुपर्नेमा नियामक बीमा प्राधिकरणबाट कार्यान्वयन गराउन नेपाल लाइफले रोकेर राखेको भेटिएको छ । सर्वोच्च अदालतमा अर्को मुद्दा दायर गरिसकेको भन्दै तारेखको पुर्जीलाई निस्सा पाइसकेको भन्दै कम्पनीले झुक्याउँदै आएको भेटिएको छ । बीमापोष्टले गरेको खोजविनको क्रममा इन्द्र बहादुर रिजाल विपक्षी नेपाल लाइफ इन्स्योरेन्स पक्ष भएको दोपा मुद्दा सर्वोच्चमा दर्ता भएको सम्म सत्य हो । नियमित पुनरावेदन नलाग्ने हुँदा दोहोर्याई पाउँ भन्ने मुद्दा दर्ता गरेको हो । यस्तो मुद्दामा एउटा इजलासमा पेशीमा चढेर उक्त मुद्दामाथि सुनुवाई गर्ने वा नगर्ने सम्बन्धमा आदेश जारी भएपछि मात्रै निस्सा पाएको मानिन्छ । नेपाल लाइफले दर्ता गरेको मुद्दा हालसम्म सुनुवाई नै नभएको भेटिएको छ । सुनुवाई नै नभएको मुद्दालाई नेपाल लाइफले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ भने ढाँटेर प्रचार गर्दै बिज्ञप्ति निकालेको हो ।

उच्च अदालत पाटनबाट मिति २०८२।१२।१० मा भएको अन्तिम फैसलामा पनि कार्यान्वयनको लागि सुरु अदालत बीमा प्राधिकरण पठाईदिनु र उच्चबाट लगत कट्टा गरिदिनु भन्ने आदेशमै उल्लेख छ । उच्च अदालत पाटनकी सूचना अधिकारी नम्रता गैरेले बीमा प्राधिकरणबाट भएको फैसला उच्चबाट सदर भइसकेपछि कार्यान्वयनमा जाने बताईन् । ‘यहाँबाट सुरु अदालत बीमा प्राधिकरणमा पठाइसकेपछि फैसला त्यहाँबाट कार्यान्वयन गर्नुपर्छ’, उच्च अदालत पाटनकी शाखा अधिकृत गैरेले भनिन् ।

उता, नेपाल लाइफका सूचना अधिकारी बिनोद भुजेलले आफूहरुले निस्सा पाएको दावी गरेका छन् । सर्वोच्च अदालतबाट छाप लगाएको पुर्जी निस्साको रुपमा पाएको भुजेलले बीमापोष्टलाई जानकारी दिए । कुन मितिमा पेशीमा चढेर कुन न्यायाधीशको आदेशमार्फत निस्सा पाएको हो ? कुनै प्रमाण छ ? भन्ने प्रश्नको जिज्ञाशामा सूचना अधिकारी भुजेलले अदालतमा विचाराधिन मुद्दामाथि अहिले केही पनि बोल्न नमिल्ने बताए । उनले भने, ‘हामीले अर्बौ रुपैयाँ बीमितलाई भुक्तानी दिएका छौं, १५ लाख रुपैयाँ रोक्नुपर्ने कारण छैन, घातक रोग सम्बन्धमा सर्वोच्चमा यसरी मुद्दा पुगेको पहिलो पटक होला, हामी नयाँ नजिर बसाउन चाहन्छौं ।’

बीमित ईन्द्र बहादुर रिजालले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरण र प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयलाई समेत झुठो विवरण पठाएर ढाँटेको भन्दै निस्सा नपाएको र उक्त मुद्दा आगामी माघमा पेशमा चढेर निस्सा पाउने नपाउने बहस हुने बताए ।

यसअघि यस्तै प्रकृतिका मुद्दाहरुमा बीमा प्राधिरकणलाई ७ दिनभित्र फैसला कार्यान्वयन गरी प्रतिवेदन समेत पेश गर्न आदेश जारी भएको थियो । सगरमाथा इन्स्योरेन्स विरुद्ध गौर शंकर फर्निचरका राम कार्की विपक्षी रहेको मुद्दामा उच्च अदालतले तत्कालै फैसला कार्यान्वयन गर्न लगाएको थियो ।

बीमितलाई दुःख दिन, दावी भुक्तानी नदिन अर्बौ लगानीका बीमा कम्पनीहरुले कानुनी औजार देखाएर तर्साउने, दुःख दिने कार्य नेपाली बीमा कम्पनीहरुले पहिलेदेखि गर्दै आएका छन् । पछिल्लो पटक नेपाल लाइफले बीमितलाई दुःख दिन यस्तो गलत अभ्यासमा उत्रिएको छ ।

यस्तो छ फैसलाको पूर्णपाठ:-

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*