जीवन बीमा अभिकर्ताको कमिशन १७.८५ प्रतिशतले बढ्यो, कुन कम्पनीले कति खर्चिए?

काठमाडौं । जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिशन खर्च चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १७.८५ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनबापत कुल ४ अर्ब २३ करोड २६ लाख रुपैयाँ खर्च गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च ३ अर्ब ५९ करोड १४ लाख रुपैयाँ रहेको थियो।
कसले कति खर्च गरे?
अभिकर्ता कमिशन खर्चका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले समीक्षा अवधिमा १ अर्ब ७ करोड ८३ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ। गत आवको यसै अवधिमा कम्पनीले ९६ करोड ४ लाख ८४ हजार रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको थियो ।
त्यस्तै नेशनल लाइफले ५७ करोड ८४ लाख ११ हजार रुपैयाँ, हिमालयन लाइफले ४० करोड ४१ लाख १६ हजार रुपैयाँ, एलआईसी नेपालले ३६ करोड ७८ लाख १३ हजार रुपैयाँ र सूर्यज्योति लाइफले २८ करोड ८४ लाख ९७ हजार रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेका छन्।

यसैगरी सिटिजन लाइफले २३ करोड २७ लाख ७८ हजार रुपैयाँ, एशियन लाइफले २२ करोड ९२ लाख ४५ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफले २१ करोड १३ लाख ३७ हजार रुपैयाँ र आईएमई लाइफले १८ करोड ५६ लाख ४० हजार रुपैयाँ खर्च गरेका छन्।
मेटलाइफले १६ करोड ७० लाख ५८ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले १६ करोड ५८ लाख २० हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १६ करोड २७ लाख २६ हजार रुपैयाँ र सन नेपाल लाइफले ११ करोड ३४ लाख ८६ हजार रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेका छन्। त्यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीले सबैभन्दा कम ४ करोड ७३ लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ।
कसको वृद्धिदर कति?
अभिकर्ता कमिशन खर्चको वृद्धिदरका आधारमा आईएमई लाइफ सबैभन्दा अगाडि रहेको छ। कम्पनीको यस्तो खर्च ४१.२८ प्रतिशतले बढेको छ। त्यस्तै सूर्यज्योति लाइफको ३२.०७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २८.०४ प्रतिशत, सन नेपाल लाइफको २४.२६ प्रतिशत र सानिमा रिलायन्स लाइफको २३.४७ प्रतिशतले कमिशन खर्च बढेको छ।
मेटलाइफको २१.९७ प्रतिशत, नेशनल लाइफको कमिशन खर्च २१.२१ प्रतिशत, रिलायबल नेपाल लाइफको २०.८७ प्रतिशत, एशियन लाइफको २०.४९ प्रतिशत र सिटिजन लाइफको १४.९४ प्रतिशतले बढेको छ।
त्यसैगरी हिमालयन लाइफको १४.७२ प्रतिशत, नेपाल लाइफको १२.२७ प्रतिशत र एलआईसी नेपालको ६.३५ प्रतिशतले कमिशन खर्च वृद्धि भएको छ। यता राष्ट्रिय जीवन बीमा कम्पनीको भने अभिकर्ता कमिशन खर्च ३.८५ प्रतिशतले घटेको छ। यसरी समीक्षा अवधिमा १४ कम्पनीमध्ये १३ कम्पनीको कमिशन खर्च बढ्दा एक कम्पनीको घटेको छ।












