एनआरएनलाई शेयर बजारमा खुल्यो नयाँ ढोका, ८५% सम्म शेयर निष्काशन गर्न पाइने

२० आश्विन २०८३, मंगलवार १५:५१

काठमाडौँ ।  सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको प्राथमिक शेयर बजारमा प्रत्यक्ष जोड्ने गरी नयाँ व्यवस्था गरेको छ। ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै सरकारले एनआरएन तथा गैरआवासीय नेपाली संघसँग सम्बन्धित लगानीकर्तालाई लक्षित गरेर शेयर निष्काशन गर्न सकिने व्यवस्था गरेको हो।

संशोधित नियमावलीअनुसार अब एनआरएनलाई लक्षित गरी शेयर निष्काशन गर्ने कम्पनीले आफ्नो जारी पूँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्काशन गर्न सक्नेछन्। यससँगै विदेशमा रहेका नेपाली लगानीकर्तालाई लक्षित गर्दै पूँजी जुटाउन चाहने कम्पनीका लागि प्राथमिक बजारमा छुट्टै अवसर सिर्जना भएको छ।

तर, एनआरएनलाई लक्षित गरी निष्काशन गरिने यस्तो सेयरमा प्रिमियम थप गर्न भने पाइने छैन। अर्थात् कम्पनीले अंकित मूल्यभन्दा बढी रकम लिएर सेयर निष्काशन गर्न पाउने छैन।

नयाँ व्यवस्थाले यस्ता सेयरको दोस्रो बजार कारोबारलाई समेत छुट्टै प्रणालीमा आबद्ध गरेको छ। धितोपत्र बजारले तोकेको प्रणालीअनुसार कारोबार हुने यस्तो सेयरको न्यूनतम कारोबार इकाई १ हजार कित्ता तोकिएको छ।

सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गर्दै नियमावली संशोधन गरेको हो। संशोधित व्यवस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तोकेको मितिदेखि कार्यान्वयनमा आउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*