इन्सेन्टिभ कटौती रोक्न अभिकर्ताको माग, ‘अध्यक्ष नभएको बहाना’ नबनाउन प्राधिकरणलाई आग्रह

२१ आश्विन २०८३, बुधबार १५:३८

काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई प्रदान गर्दै आएको प्रोत्साहन (इन्सेन्टिभ) रकम कटौती गर्न थालेपछि पेशागत बीमा अभिकर्ता संघ नेपालले त्यसलाई तत्काल रोक्न माग गरेको छ।

संघले अभिकर्तालाई दिइँदै आएको इन्सेन्टिभ कटौती गर्ने व्यवस्था रोक्न नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षण गराउँदै कम्पनीहरूलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो।

अभिकर्ताहरूले प्राधिकरणसँग कम्पनीहरूलाई इन्सेन्टिभ कटौती नगर्न निर्देशन दिन माग गरेका थिए। त्यसक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीले अध्यक्ष नियुक्ति नभइसकेकाले नयाँ निर्देशन दिन नमिल्ने बताएका थिए।

तर, अभिकर्ताहरूले भने अन्य निर्देशिका तथा नियामकीय व्यवस्था जारी गर्न मिल्ने अवस्थामा अभिकर्ताको इन्सेन्टिभ कटौतीको विषयमा कम्पनीहरूलाई निर्देशन दिन किन नमिल्ने भन्दै प्राधिकरणसँग प्रश्न गरेका छन्।

हाल नेपाल बीमा प्राधिकरणमा नेपाल सरकारको तर्फबाट चन्द्रकला पौडेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन्। कार्यवाहक नेतृत्वका कारण नयाँ निर्देशिका तथा महत्वपूर्ण नीतिगत निर्णयमा प्राधिकरण केही सावधानी अपनाइरहेको देखिन्छ।

अभिकर्ता संघले भने इन्सेन्टिभ कटौतीको प्रत्यक्ष असर अभिकर्ताको आम्दानी र पेशागत स्थायित्वमा पर्ने भएकाले नियामकले यस विषयमा तत्काल स्पष्ट धारणा बनाउनुपर्ने बताएको छ।

जीवन बीमा व्यवसायमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहेकाले कम्पनीहरूले अभिकर्तालाई प्रदान गर्दै आएको प्रोत्साहन रकममा एकपक्षीय रूपमा कटौती गर्दा त्यसको प्रभाव समग्र अभिकर्ता प्रणालीमै पर्न सक्ने संघको भनाइ छ।

यसअघि पनि अभिकर्ताले पाउँदै आएको सुविधा तथा प्रोत्साहनसम्बन्धी व्यवस्थामा परिवर्तनका विषयमा असन्तुष्टि जनाउँदै पेशागत बीमा अभिकर्ताहरूले प्राधिकरणको ध्यानाकर्षण गराउँदै आएका छन्।

संघले कम्पनीहरूले इन्सेन्टिभ कटौती गर्ने निर्णय तत्काल रोक्न र अभिकर्ताको हितमा स्पष्ट तथा समान व्यवस्था गर्न प्राधिकरणसँग माग गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*