जलवायुजन्य विपद्सँग जुध्न एआई र भू–उपग्रहको प्रयोग गर्ने सरकारको योजना

काठमाडौं । जलस्रोतको संरक्षण, वैज्ञानिक अध्ययन तथा एकीकृत व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सरकारले जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको श्वेतपत्र सार्वजनिक गरेको छ। केन्द्रले जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, खडेरी तथा हिमताल विस्फोटजस्ता जोखिम न्यूनीकरण गर्न आधुनिक प्रविधिको प्रयोग गर्दै अनुसन्धान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।
काठमाडौंको बबरमहलमा केन्द्रीय कार्यालय रहेको यो केन्द्र साविकको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञानसम्बन्धी संरचनालाई एकीकृत गरेर स्थापना गरिएको हो। केन्द्र जल तथा ऊर्जा आयोगको सचिवालय मातहत रहनेछ। यसले सन् २०३१ सम्ममा जलविज्ञान तथा जलस्रोत अनुसन्धानको क्षेत्रमा दक्षिण एसियाकै उत्कृष्ट वैज्ञानिक संस्थामध्ये एक बन्ने लक्ष्य लिएको छ।
केन्द्रले सन् २०२६ देखि २०३१ सम्मको पाँचवर्षे रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ। यस योजनाअन्तर्गत हिमनदी, हिमताल, नदी, तालतलैया र भूमिगत जलस्रोतको वैज्ञानिक अध्ययन तथा मापन गरिनेछ। जलस्रोतसम्बन्धी तथ्यांक संकलन र अनुसन्धानमार्फत जलवायु परिवर्तनका असर पहिचान गरी जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
केन्द्रअन्तर्गत जल तथा हिमविज्ञान महाशाखा, बाढी पूर्वानुमान महाशाखा तथा जलस्रोत अनुसन्धान र क्षमता विकास महाशाखा गरी तीनवटा प्राविधिक महाशाखा छन्। धरान, पोखरा, कोहलपुर र अत्तरियामा चारवटा क्षेत्रीय जलविज्ञान कार्यालय तथा सिन्धुली र जुम्लामा फिल्ड आयोजना कार्यालय स्थापना गरिएका छन्। त्यस्तै ललितपुरको गोदावरीस्थित राष्ट्रिय जलस्रोत प्रयोगशालालाई आधुनिक बनाउने काम अघि बढाइएको छ।
केन्द्रले देशभरका मापन केन्द्रमार्फत नदीको जलसतह, वर्षा, हिमपात, गेग्रान र पानीको गुणस्तरसम्बन्धी तथ्यांक नियमित रूपमा संकलन गर्दै आएको छ। नदीको बहाव पूर्वानुमान वर्षभरि र मनसुन अवधिमा २४ सै घण्टा बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा सञ्चालन गर्ने जिम्मेवारी पनि केन्द्रले पाएको छ। बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम कम गर्न भू–उपग्रहका तस्बिर, कृत्रिम बौद्धिकता (एआई) र रिमोट सेन्सिङजस्ता आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ। यी प्रविधिको सहायताले हिमताल विस्फोट, बाढी र खडेरीजस्ता जोखिमको पूर्वानुमान गरी समयमै सूचना उपलब्ध गराउने लक्ष्य छ।
केन्द्रले विभिन्न ठूला आयोजना पनि सञ्चालन गरिरहेको छ। छवटा प्रमुख नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली जडान गर्ने आयोजना, बागमती सुधार आयोजना तथा ठुलागी, लुचुम्दिङ, होङ्गु र तल्लो वरुण हिमतालको जलसतह घटाउने उद्देश्यको ‘ग्लोफ सञ्जीवनी आयोजना’ तीमध्ये प्रमुख हुन्। हिमतालको जलसतह घटाउने कामले सम्भावित हिमताल विस्फोटबाट हुन सक्ने क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसका साथै केन्द्रले जलस्रोतको एकीकृत व्यवस्थापन, पानीको बाँडफाँट, जल–ऊर्जा–खाद्य सम्बन्धको अध्ययन तथा जलस्रोतको दिगो उपयोगमा काम गर्नेछ। यी कार्यका लागि सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरिने श्वेतपत्रमा उल्लेख छ।











