पीएचपीमा सुरक्षा कमजोरी भेटिएपछि बैंकका वेबसाइट र डिजिटल सेवा बन्द

काठमाडौ । पीएचपी प्रविधिमा गम्भीर साइबर सुरक्षा कमजोरी देखिएपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाले आफ्ना वेबसाइट र अनलाइन सेवामा अस्थायी रोक लगाएका छन्। सम्भावित साइबर आक्रमणबाट ग्राहकको विवरण र बैंकिङ प्रणालीलाई सुरक्षित राख्न जोखिमको अध्ययन, प्राविधिक जाँच तथा सुरक्षा सुधारको काम अघि बढाइएको हो।
सुरक्षा जोखिमलाई ध्यानमा राख्दै ग्लोबल आईएमई बैंकले आफ्नो डिजिटल युनिभर्स सेवा केही समयका लागि स्थगित गरेको छ। बैंकले प्रणालीको सुरक्षा सुनिश्चित गर्न आवश्यक प्राविधिक सुधार तथा मर्मतसम्भार भइरहेको जनाएको छ। ग्राहकको व्यक्तिगत विवरण र डिजिटल कारोबारलाई सुरक्षित राख्ने उद्देश्यले सेवा अस्थायी रूपमा रोकिएको बैंकको भनाइ छ।
यस्तै, एनआईसी एसिया बैंकले पनि आफ्नो आधिकारिक वेबसाइटसहित केही अनलाइन सेवा बन्द गरेको छ। पीएचपी प्रविधिमा देखिएको जोखिमको प्रभावबारे प्राविधिक मूल्याङ्कन गरी प्रणाली सुरक्षित बनाउने काम भइरहेको बैंकले जनाएको छ। सुरक्षा परीक्षण र आवश्यक सुधार पूरा भएपछि मात्रै सेवा पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले समेत वेबसाइटमा प्राविधिक मर्मतसम्भार तथा सुरक्षा अद्यावधिक गर्नुपर्ने भएकाले सेवा अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। महालक्ष्मी विकास बैंकले पनि आफ्नो वेबसाइट र वेबमा आधारित केही सेवामा रोक लगाएर प्रणाली अद्यावधिकको काम अघि बढाएको छ।
बैंकहरूले सेवा बन्द गर्नुको मुख्य उद्देश्य सम्भावित सुरक्षा जोखिमबाट डिजिटल प्रणालीलाई जोगाउनु र ग्राहकका संवेदनशील विवरण सुरक्षित राख्नु रहेको बताएका छन्। यद्यपि, सेवा पुनः सञ्चालन हुने समयबारे स्पष्ट जानकारी नदिइएकाले ग्राहकले अनलाइन बैंकिङ तथा अन्य डिजिटल सुविधाको प्रयोगमा केही समय असहजता भोग्नुपर्ने देखिएको छ।












