बीमा कम्पनीका सञ्चालकलाई स्पष्टीकरणका लागि बोलाउने प्राधिकरणको तयारी

१ कार्तिक २०८३, आईतवार १३:१६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन उल्लङ्घन तथा नीतिगत अनियमितताका कैफियत फेला परेपछि विभिन्न बीमा कम्पनीका सञ्चालक समितिलाई स्पष्टीकरणका लागि बोलाउने तयारी गरेको छ।

प्राधिकरणको स्थलगत निरीक्षणका क्रममा जीवन, निर्जीवन, लघुबीमा तथा पुनर्बीमा कम्पनीमा व्यापार प्रवर्द्धन तथा विज्ञापन खर्च, अपारदर्शी कमिसन, वित्तीय स्वार्थ जोडिएको लगानी, सम्पत्ति शुद्धीकरण, जोखिमाङ्कन र म्यादी बीमा व्यवसायमा अनियमिततासम्बन्धी कैफियत फेला परेका छन्।

केही कम्पनीमा एउटै पदमा कार्यरत कर्मचारीलाई फरक–फरक तलब तथा सुविधा दिएको विषयसमेत प्राधिकरणको निगरानीमा परेको छ।

व्यवस्थापनबाट प्राप्त लिखित स्पष्टीकरण चित्तबुझ्दो नदेखिएपछि सञ्चालक समितिलाई नै जवाफदेही बनाउन लागिएको प्राधिकरणसम्बद्ध स्रोतले जनाएको छ। दसैं बिदापछि सम्बन्धित कम्पनीका अध्यक्षसहित स्वतन्त्र सञ्चालकबाहेक अन्य सदस्यलाई बोलाउने तयारी छ।

सञ्चालक समितिबाट प्राप्त स्पष्टीकरण पनि चित्तबुझ्दो नभएमा सम्बन्धित बीमा कम्पनीमाथि गरिने कारबाहीबारे प्राधिकरणको सञ्चालक समितिले निर्णय गर्ने जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*