चितवन ईभी आगलागी प्रकरण: मृतकका परिवारलाई सीजी मोटर्सले दियो १२ लाख अन्तरिम क्षतिपूर्ति

५ कार्तिक २०८३, बिहीबार ०८:१३

काठमाडौँ । चितवनको भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा ज्यान गुमाएका अमर पराजुलीको परिवारलाई सवारीसाधनको आयातकर्ता कम्पनी सीजी मोटर्सले १२ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति उपलब्ध गराएको छ। घटनाको प्राविधिक अनुसन्धानमा सहयोग गर्ने र परीक्षणबाट गाडीमा प्राविधिक कमजोरी देखिए थप क्षतिपूर्ति दिने प्रतिबद्धतासहित कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार कानुनअनुसार पछि निर्धारण हुने दायित्व कायम रहने गरी तत्कालका लागि पीडित परिवारलाई रकम दिइएको हो। यससँगै गाडी खरिदका लागि किस्ताबापत तिर्न बाँकी रहेको ५ लाख ५० हजार रुपैयाँसमेत छुट दिइएको परिवारका एक सदस्यले बताएका छन्।

गत भदौ २६ गते बिहान करिब ६ बजे भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिक पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा उक्त दुर्घटना भएको थियो। पूर्वतर्फबाट भरतपुर आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको सेतो जीएसी आयोन विद्युतीय कारमा अचानक धुवाँ र आगोको झिल्को देखिएको थियो। केही क्षणमै आगो फैलिँदा कारभित्र रहेका भरतपुर महानगरपालिका–१२ निवासी ५६ वर्षीय पराजुलीको ज्यान गएको थियो।

घटनाको सबैभन्दा गम्भीर पक्ष आगो लागेपछि पराजुली कारबाट बाहिर निस्कन नसक्नु रहेको छ। कार रोकिएपछि पछाडिबाट अर्को सवारीसाधनमा आइरहेकी एक महिलाले ढोका खोलेर उद्धार गर्ने प्रयास गरे पनि सफल हुन सकिनन्। बाहिरबाट ढोका खोल्न नसकिएको र कारभित्र धुवाँ भरिँदै गएको अवस्थामा पराजुली अचेत बनेको विवरण सार्वजनिक भएको छ। त्यसपछि आगो फैलिँदै जाँदा कार आफैँ अघि बढेको र अन्ततः उनी गाडीकै भित्र जलेर मृत्यु भएको बताइएको छ।

यो घटनाले विद्युतीय सवारीसाधनमा प्रयोग हुने स्वचालित ढोका प्रणालीको सुरक्षाबारे बहस चर्काएको छ। जीएसी आयोनका सन् २०२४ वा २०२५ का मोडेलमा प्रयोग भएका बाहिरी ह्यान्डल सामान्य अवस्थामा बाहिर नदेखिने र आवश्यक पर्दा मात्र बाहिर निस्कने प्रकारका रहेको विवरणमा उल्लेख छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा वा नियन्त्रण प्रणालीमा खराबी आउँदा यस्ता ह्यान्डलले काम नगर्ने जोखिम रहन सक्छ। त्यसैले दुर्घटना वा आगलागीजस्ता आपत्कालीन अवस्थामा बाहिरबाट ढोका खोल्न सकिने व्यवस्था कति प्रभावकारी छ भन्ने प्रश्न उठेको छ।

आधुनिक विद्युतीय कारका ढोका प्रायः १२ भोल्टको कम भोल्टेज प्रणालीमार्फत सञ्चालन हुने गर्छन्। दुर्घटनाका कारण उक्त प्रणालीमा क्षति पुगेमा विद्युतीय लक निष्क्रिय हुन सक्ने भएकाले मेकानिकल रूपमा ढोका खोल्न मिल्ने वैकल्पिक व्यवस्था महत्त्वपूर्ण मानिन्छ। युरोपसहित विभिन्न बजारमा बाहिरी ह्यान्डल र आपत्कालीन ढोका खोल्ने प्रणालीको सुरक्षालाई लिएर नियामकीय चासो बढेको छ। नेपालमा पनि यस्ता सवारीसाधनको सुरक्षा मापदण्ड र आपत्कालीन उद्धारको सहजताबारे पुनरावलोकन गर्नुपर्ने आवश्यकता यो घटनाले देखाएको छ।

आगलागीको वास्तविक कारण भने अहिलेसम्म सार्वजनिक भइसकेको छैन। घटनाको एक महिना बितिसक्दा पनि प्रहरी तथा प्राविधिक टोलीको परीक्षण प्रतिवेदनको प्रतीक्षा भइरहेको छ। सीजी मोटर्सले भने आगलागी ब्याट्रीका कारण नभएको दाबी गर्दै आएको छ। तर दुर्घटनामा सवारीसाधनको प्राविधिक कमजोरीको भूमिका थियो वा थिएन भन्ने विषय अनुसन्धानको निष्कर्षपछि मात्र स्पष्ट हुनेछ।

पीडित परिवारले घटनाको कारण पत्ता लगाई जिम्मेवारी निर्धारण गर्न माग गर्दै आएको छ। परिवारका एक सदस्यका अनुसार अदालत जाने चेतावनीपछि कम्पनीले तत्कालका लागि १२ लाख रुपैयाँ उपलब्ध गराएको र सार्वजनिक रूपमा विवाद नबढाउन आग्रह गरेको थियो। गाडीमा प्राविधिक वा मेकानिकल खराबी प्रमाणित भए थप क्षतिपूर्ति दिने आश्वासनसमेत कम्पनीले दिएको परिवारको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*