पीएचपी सुरक्षा जोखिम : बैंक तथा वित्तीय संस्थालाई सुरक्षा सतर्कता बढाउन राष्ट्र बैंकको निर्देशन

६ कार्तिक २०८३, शुक्रबार ०७:५९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

राष्ट्र बैंकले कात्तिक ६ गते जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई सर्भरमा प्रयोग भइरहेका प्रणालीको सुरक्षा सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन अपिल गरेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँगै भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई समेत सम्भावित साइबर जोखिमबाट जोगिन आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।

पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवासमेत अस्थायी रूपमा बन्द गरेको जनाएको छ।

सेवाहरू अस्थायी रूपमा बन्द गरिएपछि राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

राष्ट्र बैंकले सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*