ज्योति विकास बैंकको वित्तीय विवरणमा चमक, नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति विकास बैंकले २० करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा करिब १८४.५९ प्रतिशतको फराकिलो वृद्धि हो। गत आवको पहिलो त्रैमासमा बैंकको खुद मुनाफा ७ करोड ३ लाख रुपैयाँमा सीमित रहेको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा आएको सुधारले नाफा बढाउन मुख्य भूमिका खेलेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६३ करोड १८ लाख रुपैयाँ पुगेको छ जुन गत वर्षको सोही अवधिमा ५२ करोड ५९ लाख रुपैयाँ रहेको थियो। कोषको लागत घटेर ३.६९ प्रतिशतमा झरेसँगै बैंकको ब्याज खर्च ६४ करोड ११ लाख रुपैयाँमा सीमित भएपछि खुद ब्याज आम्दानी बढेको हो। यसैगरी बैंकको कुल सञ्चालन आम्दानी पनि ६७ करोड ९८ लाख रुपैयाँबाट बढेर ७७ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
सम्भावित जोखिम बापतको व्यवस्था अर्थात् इम्पेयरमेन्ट चार्जमा आएको भारी कमीले पनि बैंकको नाफा उकास्न ठूलो सहयोग पुर्याएको छ। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज १६ करोड ७६ लाख रुपैयाँमा झरेको छ जुन अघिल्लो वर्ष ३० करोड १७ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको सञ्चालन मुनाफा पनि १० करोड ४ लाख रुपैयाँबाट ह्वात्तै बढेर २८ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
बैंकका अन्य प्रमुख वित्तीय सूचकहरूमा पनि सकारात्मक परिवर्तन देखिएको छ। अघिल्लो वर्षको असोज मसान्तमा ७.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर ७.१७ प्रतिशतमा झरेको छ। नाफामा आएको सुधारसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४० पैसाबाट बढेर १८ रुपैयाँ २१ पैसा पुगेको छ। त्यसैगरी इक्विटीमा प्रतिफल १०.४९ प्रतिशत र सम्पत्तिमा प्रतिफल १ प्रतिशत कायम भएको छ।
समीक्षा अवधिमा बैंकको आधार दर ५.५५ प्रतिशत, स्प्रेड दर ४.३१ प्रतिशत र पुँजी कोष अनुपात १३.९० प्रतिशत रहेको छ। असोज मसान्तसम्ममा ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ६५ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।











