गम्भीर घोटालाको आरोपमा मुछिएपछि लोकसेवाका अध्यक्षले छोडे पद

काठमाडौं । गम्भीर घोटालाको आरोप लागेपछि कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा पेस गरेका हुन् ।
उनको राजीनामा आगामी सोमबारदेखि लागू हुनेगरी स्वीकृत भएको जनाइएको छ । गुरागाईं २०८१ असार २३ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए । उनको पदावधि ६ वर्षको भए पनि अझै चार वर्ष बाँकी छँदै उनले पद छाडेका हुन् ।
गुरागाईंमाथि आयोगको परीक्षा प्रणालीमा एकाधिकार कायम गरेकोदेखि आफ्नै सुविधा बढाउने प्रस्ताव अघि सारेकोसम्मका आरोप लाग्दै आएका थिए । उनले प्रदेश लोक सेवा आयोग ऐनको अनुसूची तथा खर्च व्यवस्थापन मापदण्ड संशोधन गरेर आफ्नो सुविधा बढाउन खोजेको आरोप छ ।
त्यस्तै परीक्षा प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन स्वतन्त्र विषयविज्ञ परिचालन गर्नुपर्नेमा आफैँ परीक्षा नियन्त्रकको भूमिकामा रहेर प्रश्नपत्र निर्माण तथा परिमार्जन, उत्तरपुस्तिका परीक्षण, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तासम्मका संवेदनशील काममा संलग्न भएको आरोप उनीमाथि लागेको थियो ।
आयोगको कार्यविधिअनुसार प्रश्नपत्र तयार गरेबापत प्रतिसेट ३ हजार ६०० देखि ५ हजार ४०० रुपैयाँसम्म, ‘इन–बास्केट एक्सरसाइज’ को कच्चा प्रश्नपत्र तयार गरेबापत एकमुष्ट १२ हजार रुपैयाँ र अन्तर्वार्ता लिएबापत प्रतिशिफ्ट २ हजार ५०० रुपैयाँ भत्ता बुझ्ने गरेको आरोपसमेत उनीमाथि छ ।
त्यसैगरी थोरै परीक्षार्थीका लागि परीक्षा हलमा धेरै निरीक्षक खटाउने र छोटो अवधिमा परीक्षा सञ्चालन गर्न धेरै सिफ्ट चलाएर अतिरिक्त भत्ता लिने गरेको आरोप पनि गुरागाईंमाथि लागेको थियो । यस विषयमा छानबिनको माग गर्दै कोशी प्रदेशसभाको संसदीय समितिमा उजुरीसमेत परेको थियो ।
पछिल्ला तीन आर्थिक वर्षमा गुरागाईंले पारिश्रमिक तथा अन्य सुविधा बापत १५ लाख १२ हजार ४३१ रुपैयाँ ७० पैसा, लेखरचना बापत १२ हजार ८२ रुपैयाँ र भ्रमण खर्चबापत १ लाख ५७ हजार ३९९ रुपैयाँ गरी कुल १६ लाख ८१ हजार ९१२ रुपैयाँ ७० पैसा बुझेका थिए ।











