इन्सेन्टिभ कटौती रोक्न अभिकर्ता संघको माग, प्राधिकरणको भूमिकामाथि प्रश्न

काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई दिँदै आएको प्रोत्साहन (इन्सेन्टिभ)रकम कटौती गर्न थालेपछि पेशागत बीमा अभिकर्ता संघ नेपालले त्यसलाई तत्काल रोक्न माग गरेको छ ।
अभिकर्ताको आम्दानीमा प्रत्यक्ष असर पर्ने गरी इन्सेन्टिभ कटौती हुँदा पनि नेपाल बीमा प्राधिकरणले आवश्यक हस्तक्षेप नगरेको भन्दै संघले आपत्ति जनाएको हो ।
संघले कम्पनीहरूलाई इन्सेन्टिभ कटौती नगर्न निर्देशन दिन प्राधिकरणसँग आग्रह गरेको छ । तर, प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीले अध्यक्ष नियुक्ति नभइसकेको अवस्थामा नयाँ निर्देशन दिन नमिल्ने धारणा राखेको अभिकर्ताहरूले बताएका छन् ।
हाल प्राधिकरणमा चन्द्रकला पौडेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् । अध्यक्ष नियुक्त नभएको बहानामा नियामक आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै अभिकर्ताहरूले प्रश्न उठाएका छन् ।
इन्सेन्टिभ कटौतीले अभिकर्ताको आम्दानी तथा पेशागत स्थायित्वमा असर पर्ने भन्दै संघले प्राधिकरणसँग तत्काल स्पष्ट निर्देशन जारी गर्न र सुविधासम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न माग गरेको छ ।











