तीन महिनामै वाणिज्य बैंकमा थपियो साढे २ खर्ब निक्षेप, प्राइम र एनआईसीसहित तीन बैंकको घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको निक्षेप २ खर्ब ५३ अर्ब ७ करोड रुपैयाँले बढेको छ । गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म बैंकहरूको निक्षेपमा उल्लेख्य वृद्धि भएको हो । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असार मसान्तसम्म ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ निक्षेप रहेको २० वाणिज्य बैंकमा असोज मसान्तसम्म आइपुग्दा बढेर ७७ खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म सबैभन्दा धेरै निक्षेप राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ । तीन महिनाको अवधिमा बैंकको निक्षेप ३५ अर्ब ३० करोड रुपैयाँले बढेर ७ खर्ब १६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तमा बैंकको निक्षेप ६ खर्ब ८१ अर्ब ६३ करोड रुपैयाँ थियो ।
निक्षेपको आकारका आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकमा ७ खर्ब १६ अर्ब ३९ करोड रुपैयाँ निक्षेप पुगेको छ । असार मसान्तमा ७ खर्ब ४४ करोड रुपैयाँ रहेको बैंकको निक्षेप तीन महिनामा १५ अर्ब ९५ करोड रुपैयाँले बढेको हो ।
निक्षेप वृद्धिको आधारमा भने नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब ५० करोड रुपैयाँले बढेर ६ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ३५ अर्ब ३० करोड, नेपाल एसबीआई बैंकको २६ अर्ब ७० करोड, कुमारी बैंकको २५ अर्ब ६० करोड र एभरेस्ट बैंकको २१ अर्ब २४ करोड रुपैयाँले वृद्धि भएको छ ।
यसैगरी, नेपाल बैंकको निक्षेप १९ अर्ब ६७ करोड, लक्ष्मी सनराइज बैंकको १६ अर्ब २४ करोड, एनआईएमबीको १४ अर्ब ४० करोड, माछापुच्छ्रे बैंकको ९ अर्ब ११ करोड र सिटिजन्स बैंकको ८ अर्ब ९१ करोड रुपैयाँले बढेको छ । त्यस्तै, सानिमा बैंकको निक्षेप ६ अर्ब ४२ करोड, एनएमबी बैंकको ६ अर्ब ३ करोड, सिद्धार्थ बैंकको ५ अर्ब ९१ करोड, हिमालयन बैंकको ४ अर्ब १२ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ अर्ब ५ करोड र प्रभु बैंकको १ अर्ब ८० करोड रुपैयाँले वृद्धि भएको छ ।
तर, सबै बैंकको निक्षेपमा भने वृद्धि देखिएको छैन । समीक्षा अवधिमा प्राइम कमर्सियल बैंकको निक्षेप ३ अर्ब ९२ करोड रुपैयाँले घटेको छ । त्यस्तै, कृषि विकास बैंकको ३ अर्ब ३ करोड र एनआईसी एसिया बैंकको २ अर्ब ९३ करोड रुपैयाँले निक्षेप घटेको तथ्यांकले देखाएको छ ।
यो पनि
कर्जा प्रवाहमा आक्रामक वाणिज्य बैंक: तीन महिनामा दिए १ खर्ब ४१ अर्ब ऋण, प्रभुसहित तीन वटाको घट्यो











