नेपाल बैंकको नाफामा उछाल, खराब कर्जा घट्यो

१५ कार्तिक २०८३, आईतवार ०९:३४

काठमाडौं । चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्मको वित्तीय विवरण अनुसार नेपाल बैंक लिमिटेडले खुद नाफामा उल्लेख्य सुधार गरेको छ। समीक्षा अवधिमा बैंकले ८३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन आवको सोही अवधिको ५८ करोड ८२ लाख रुपैयाँको तुलनामा ४१.४६ प्रतिशतले बढी हो।

सञ्चालन नाफामा भएको वृद्धि तथा सम्भावित नोक्सानी व्यवस्थापनको भारमा आएको कमीका कारण बैंकको खुद नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा बढेर ९९ करोड ७० लाख पुगेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ९१ करोड ७१ लाख रुपैयाँ रहेको थियो।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३५ करोड १० लाख पुगेको छ भने खुद ब्याज आम्दानी २ अर्ब ४८ करोड ९५ लाख रुपैयाँ कायम भएको छ। यस अवधिमा बैंकको कुल सम्पत्ति ५ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। निक्षेप संकलनतर्फ बैंकले ४ खर्ब ३४ अर्ब १३ करोड र कर्जा प्रवाहमा २ खर्ब ५० अर्ब ७ करोड रुपैयाँ कायम गरेको छ। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।

बैंकको निष्कृय कर्जा व्यवस्थापनमा राम्रो सुधार देखिएको छ। अघिल्लो वर्षको असोज मसान्तमा ५.४९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर यस वर्ष ४.६१ प्रतिशतमा सीमित भएको छ। नाफामा आएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी बढेर २२.६५ रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष १६.०१ रुपैयाँ मात्र रहेको थियो। यसैगरी बैंकको प्रतिशेयर नेटवर्थ २९२.८९ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*