एनआईसी एशिया बैंकमा वित्तीय दबाबको असर: ४४ पछि फेरि ७ शाखा बन्द हुँदै, ग्राहकलाई सास्ती

११ कार्तिक २०८३, बुधबार ११:२८

काठमाडौं । कुनै समय आक्रामक व्यावसायिक विस्तार र देशभर शाखा सञ्जाल फैलाएर आफूलाई अग्रणी बैंकका रूपमा प्रस्तुत गर्दै आएको एनआईसी एसिया बैंक अहिले शाखा कार्यालय धमाधम बन्द गर्ने रणनीतिमा अघि बढेको छ। बैंकले खर्च कटौती र वित्तीय अवस्थामा सुधार ल्याउने उद्देश्यले शाखा कार्यालय बन्द गर्ने क्रमलाई तीव्रता दिइरहेको हो।  तर बैंकको यस्तो कदमले ग्राहकको दैनिक बैंकिङ सेवा प्रभावित हुन थालेको छ। नजिकै शाखा कार्यालय रहेकाले खाता खोलेका ग्राहक अहिले घण्टौँ लाइनमा बस्नुपर्ने र सामान्य कारोबारका लागि समेत लामो समय खर्चिनुपर्ने अवस्थामा पुगेका छन्।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारामार्फत ग्राहकसँग आत्मीय सम्बन्ध स्थापित गर्न खोजेको एनआईसी एसिया बैंकको पछिल्लो कदमले भने यही सम्बन्धमाथि प्रश्न उठाएको छ। कुनै समय आक्रामक रूपमा शाखा विस्तार गरेर ग्राहकलाई आफ्नो सेवातर्फ आकर्षित गरेको बैंक अहिले तिनै शाखा बन्द गर्दै जाँदा ग्राहकले सहज बैंकिङ सेवाको सट्टा झन्झट बेहोर्नुपरेको गुनासो गर्न थालेका छन्।

गत वैशाखमै एकैपटक ४४ वटा शाखा कार्यालय बन्द गरेको बैंकले फेरि विभिन्न स्थानका सातवटा शाखा बन्द गर्ने तयारी गरेको छ। छोटो अवधिमै ठूलो संख्यामा शाखा बन्द गर्ने निर्णयले बैंकको व्यावसायिक रणनीति र वित्तीय अवस्थाबारे थप प्रश्न उठाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई खर्च व्यवस्थापन गर्न र आवश्यकताअनुसार शाखा समायोजन गर्न नीतिगत सहजीकरण गरेपछि एनआईसी एसियाले त्यसको उपयोग गर्दै शाखा बन्द गर्ने क्रम बढाएको हो। अन्य बैंक तथा वित्तीय संस्थाले पनि ग्राहकको आवश्यकता, शाखाको कारोबार र सञ्चालन लागतलाई ध्यानमा राखेर शाखा समायोजन गरिरहेका छन्। तर एनआईसी एसियाको हकमा भने एकपछि अर्को शाखा बन्द हुँदा ग्राहकले भोग्नुपरेको असुविधा प्रमुख चिन्ताको विषय बनेको छ।

शाखा बन्द गर्ने निर्णयले बैंकको सञ्चालन खर्च घटाउन सहयोग पुग्न सक्छ। तर खर्च कटौतीकै नाममा ग्राहकलाई उपलब्ध हुँदै आएको सेवामा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना भए त्यसले बैंकप्रतिको विश्वास कमजोर बन्ने खतरा बढ्दै गएको हो। बैंकिङ सेवा केवल नाफा र खर्चको हिसाबमा सीमित हुँदैन। ग्राहकले सहज रूपमा रकम जम्मा गर्न, झिक्न, चेक साट्न तथा अन्य वित्तीय कारोबार गर्न पाउनु पनि बैंकको जिम्मेवारी हो। शाखा बन्द गर्दा वैकल्पिक सेवाको पर्याप्त व्यवस्था गर्न नसकिए त्यसको भार अन्ततः ग्राहकले नै बेहोर्नुपर्ने हुन्छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा मात्रै ३५ वटाभन्दा बढी शाखा कार्यालय बन्द गरेको छ। शाखा संख्या घट्दै जाँदा एउटै कार्यालयमा ग्राहकको चाप बढेको छ। पहिले नजिकैको शाखाबाट सेवा लिँदै आएका ग्राहक अहिले अर्को शाखामा पुग्न बाध्य छन्। त्यहाँ पुगेपछि लामो लाइनमा बस्नुपर्ने, आफ्नो पालो कुर्नुपर्ने र सामान्य कारोबार सम्पन्न गर्नसमेत घण्टौँ खर्चिनुपर्ने अवस्था आएको गुनासो छ।

काठमाडौंको कमलादीस्थित एनआईसी एसिया बैंकको कार्यालयमा समेत ग्राहकले लामो लाइनमा बस्नुपर्ने अवस्था रहेको छ। रकम जम्मा गर्न वा झिक्नकै लागि दुईदेखि तीन घण्टासम्म समय खर्चिनुपर्ने अवस्था रहेको ग्राहकहरूको गुनासो छ। दैनिक कामकाजका लागि बैंक पुग्ने ग्राहकले सामान्य कारोबारमै यति धेरै समय दिनुपर्ने भएपछि बैंकिङ सेवा सहज हुनुको सट्टा झन् झन्झटिलो बनेको छ।

विशेषगरी नियमित रूपमा बैंकमा पुगेर कारोबार गर्नुपर्ने ग्राहक, ज्येष्ठ नागरिक, व्यवसायी तथा कार्यालय समयमा बैंकिङ सेवा लिनुपर्ने व्यक्तिका लागि यस्तो अवस्था थप समस्याजनक बनेको छ।

बैंकले फेरि बन्द गर्न लागेको सातवटा शाखा विभिन्न जिल्लामा रहेका छन्। उपलब्ध विवरणअनुसार काठमाडौंको ठूलोभ¥याङ, रुपन्देहीका राममन्दिर बुटवल, देवीनगर र देवकोटा चोक, झापाको फाल्गुनन्द चोक तथा भक्तपुरका ट्याङ्लाफाँट र पुरानो ठिमी शाखा बन्द गर्ने सूचीमा छन्। यी शाखालाई क्रमशः नजिकका अन्य शाखामा समायोजन गर्ने योजना रहेको विवरणमा उल्लेख छ।

बैकले खराब कर्जा नियन्त्रण, कर्जा असुलीमा सुधार, आम्दानीको गुणस्तर वृद्धि र प्रभावकारी खर्च व्यवस्थापनसँगै ग्राहकलाइ सहज वातावरण बनाउनुको साटो धमाधम शाखा बन्द गरिरहेको हो । खर्च कटौतीका नाममा शाखा घटाउँदै जाने तर बाँकी शाखामा ग्राहकलाई घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था कायम रहदा बैंकको ‘बैंक पनि साथी पनि’ भन्ने नारामाथि नै प्रश्न उठिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*