भन्सार र भीसीटीएस प्रणालीलाई एकीकृत गर्न प्रस्ताव

८ मंसिर २०८३, मंगलवार १४:३३

काठमाडौं । सरकारले भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीका क्रममा अवैध वस्तु मिसाउने गतिविधि नियन्त्रण गर्न भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ।

मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले यस्तो प्रस्ताव गरेका हुन्।

उनका अनुसार भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै आयातित सामानको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गरिनेछ। यसले वैध सामान बोकेर निस्किएका सवारीसाधनले बाटोमा अवैध वस्तु थप्ने वा सामान मिसाएर ढुवानी गर्ने गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने उनले बताए।

उनले भैरहवा भन्सारबाट सामान लिएर आएको गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपेर काठमाडौंको थानकोटमा पक्राउ परेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे।

प्रस्तावअनुसार आन्तरिक उत्पादनबाट बजारमा पठाइने वस्तुको विवरण भने पहिलेझैँ भीसीटीएसमा प्रविष्ट गर्नुपर्नेछ। भन्सारबाट आयात हुने वस्तुको विवरण भने भन्सारको अनलाइन प्रणालीबाट स्वतः भीसीटीएसमा जोडिनेछ।

सचिव उपाध्यायले भीसीटीएसमा विवरण प्रविष्ट नगरेमा पहिलोपटक ५० हजार र त्यसपछि एक लाख रुपैयाँ जरिवाना हुने व्यवस्था प्रक्रियागत भएको स्पष्ट पारे। चोरीपैठारीमा संलग्नलाई भने छुट्टै कानुनी व्यवस्थाअनुसार कारबाही हुने उनले बताए। त्यस्तै भीसीटीएससम्बन्धी नयाँ मापदण्ड लागू गर्नुअघि व्यवसायीलाई पर्याप्त समय दिएर सार्वजनिक गर्नुपर्ने प्रस्ताव पनि उनले गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*