सरकारले आन्तरिक स्रोतबाट थप १० अर्ब ऋण उठाउँदै

काठमाडौं । सरकारले आन्तरिक स्रोतबाट थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्ष अवधिको विकास ऋणपत्र बिक्रीमार्फत उक्त रकम जुटाउन लागेको हो ।
कार्यालयका अनुसार ‘विकास ऋणपत्र–२०८९’ बोलकबोल प्रक्रियामार्फत बिक्री गरिनेछ । यसका लागि मंसिर ९ गते बोलकबोल हुने र मंसिर १० गते ऋणपत्र निष्कासन गरिनेछ ।
उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले लगानी गर्न सक्नेछन् । ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले निर्धारित मितिमा बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्ने कार्यालयले जनाएको छ ।
सरकारले सार्वजनिक खर्च व्यवस्थापन तथा वित्तीय आवश्यकता पूरा गर्न विकास ऋणपत्रमार्फत आन्तरिक बजारबाट ऋण उठाउँदै आएको छ । यस्तो ऋणपत्रमा लगानीकर्ताले निश्चित अवधिका लागि सरकारलाई रकम उपलब्ध गराउँछन् भने सरकारले तोकिएको सर्तअनुसार साँवा तथा ब्याज भुक्तानी गर्छ ।











