पुराना र असान्दर्भिक कानुन खारेज गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक गतिविधिलाई सहज, सरल र प्रभावकारी बनाउन समयसापेक्ष नरहेका तथा पुराना कानुन खारेज गर्नुपर्ने बताएका छन् । नयाँ कानुन निर्माण गर्ने तर पुराना कानुन संशोधन तथा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ थपिएको उनको भनाइ छ ।
मङ्गलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलमा सहभागी हुँदै अर्थमन्त्री वाग्लेले कानुनी सुधारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले विभिन्न अध्ययन तथा प्रतिवेदनले खारेज गर्नुपर्ने भनी औँल्याएका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिए । नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नेभन्दा पनि यसअघि नै विभिन्न निकाय तथा अध्ययन प्रतिवेदनबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने उद्देश्यले विधायिकी सुधारको प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारे ।
अर्थमन्त्री वाग्लेले नियमन आवश्यक भए पनि अत्यधिक कानुनी व्यवस्थाले आर्थिक गतिविधिलाई अवरुद्ध गर्न सक्ने बताए । एउटा कानुनले आर्थिक गतिविधि सहज बनाउने तर अर्को कानुनले नियन्त्रण गर्ने अवस्था हुँदा नीतिगत विरोधाभास सिर्जना हुने उनको भनाइ थियो ।
पुराना ऐन तत्कालीन समय र परिस्थितिअनुसार निर्माण गरिएकाले अहिलेको परिवर्तित सन्दर्भमा तिनको औचित्य पुनरावलोकन गर्नुपर्ने उनले बताए । विशेषगरी आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै पुराना कानुनी व्यवस्था समयसापेक्ष नरहेको भन्दै आवश्यक कानुनी प्रावधानलाई आधुनिक ऐनमा समेट्नुपर्नेमा उनले जोड दिए ।
‘नेपालमा नयाँ कानुन बनाउने तर पुराना कानुन संशोधन वा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्ति छ । यसले अनावश्यक रूपमा कानुन थपिँदै जाँदा अर्थतन्त्र अति नियमनको अवस्थामा पुग्ने जोखिम हुन्छ । नियमन आवश्यक छ तर अत्यधिक र परस्पर विरोधी कानुनले आर्थिक गतिविधिलाई बाधा पुर्याउन सक्छ,’ उनले भने ।
उनले टिकट टाँस्नेसम्बन्धी ऐन र कालोबजारीसम्बन्धी पुराना कानुनी व्यवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नयाँ उपभोक्ता संरक्षणसम्बन्धी कानुन आइसकेको अवस्थामा पुराना व्यवस्थाको औचित्य पुनरावलोकन गर्नुपर्ने बताए ।











