भारतले भन्यो, ‘बालेनको भ्रमणमा लिपुलेकबारे कुरा उठेन’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसँग जोडिएको सीमा विवादको विषयमा कुनै छलफल नभएको भारतीय पक्षले जनाएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री शाहको भ्रमणका क्रममा उक्त विषय नउठेको स्पष्ट पारेका हुन्।
लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन भइरहेको व्यापारका विषयमा समेत प्रधानमन्त्री शाहले कुनै आपत्ति नजनाएको भारतीय पक्षको भनाइ छ।
नेपाल र भारतबीच लामो समयदेखि कायम सीमा विवाद समाधानका लागि उच्चस्तरीय वार्तामार्फत पहल गर्नुपर्ने आवाज उठिरहेका बेला भारतीय पक्षको यो भनाइ सार्वजनिक भएको हो। विशेषगरी नेपाली भूमि हुँदै भारत र चीनबीच भइरहेको व्यापारको विषयलाई नेपालले कूटनीतिक तहमा उठाउनुपर्ने माग भइरहेका बेला प्रधानमन्त्रीको भ्रमणमा यसबारे छलफल नभएको खबरले राजनीतिक वृत्तमा चासो बढाएको छ।
यस विषयलाई लिएर प्रतिपक्षी दलहरूले राष्ट्रियता र सीमा सुरक्षासँग जोडिएका मुद्दा सरकारको प्राथमिकतामा नपरेको भन्दै आलोचना गर्दै आएका छन्।











