सरकारले आज सार्वजनिक विदा दिएन, बीमा, बैंक र सरकारी कार्यालय खुल्ने

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक विदा दिने एक मन्त्री नै अभिव्यक्ति दिए पनि सरकारले आज सार्वजनिक विदा दिने सम्बन्धीमा कुनै पनि निर्णय गरेन । जसबाट आज सबै सार्वजनिक कार्यालयहरु सुचारु हुनेछन् ।
गृहमन्त्रालयका सूचना अधिकारी उप सचिव बसन्त भट्टराईले आजको लागि सार्वजनिक विदा दिने सम्बन्धमा कुनै निर्णय नभएको बताए । अनलाईनमा आएका केही समाचारहरुमा आज सार्वजनिक विदा दिइने उल्लेख थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक दिन सार्वजनिक विदा दिने निर्णय हुनै लागेको भन्दै अभिव्यक्ति दिएका थिए ।
तर, सो विषयमा सरकारले निर्णय नगरेपछि आज सार्वजनिक विदा नहुने भएको हो । विद्यालय, बैंक, बीमा तथा सबै सरकारी तथा सार्वजनिक सेवा प्रदायक कम्पनीहरु आज खुल्ला हुनेछन् ।
हिजो रुटिङ अफ नेपाल बन्द नामक सर्वाधिक चर्र्चित फेसबुक पेज र केही अनलाईनहरुले समेत सार्वजनिक विदा दिने भन्दै समाचार प्रस्तुत गरेका थिए ।












