विष्णु पौडेलविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले गरे सर्वोच्च अदालतमा मुद्दा दायर

काठमाडौं । निर्वाचनमा धाँधली गरेको भन्दै नेकपा एमाले उम्मेदवार विष्णु पौडेलविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् ।
रुपन्देही क्षेत्र नं। २ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए । मतान्तरमा धेरै अन्तर नभएको र धाँधली भएको भन्दै उनले मुद्धा हालेका हुन् ।
उनले रिट निवेदनमा नवनिर्वाचित विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं। २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका छन् ।
मंगलबार दर्ता भएको निवेदनको पेशी तोकिएको छैन । निर्वाचनसम्बन्धी विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था छ ।












