कन्फिडेन्टका साथ प्रचण्डले भने, ‘तेस्रो कार्यकाल प्रधानमन्त्री बन्दैछु’, को बन्छ अर्थमन्त्री ?

काठमाडौं । निर्वाचन आयोगले भोलि मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भर्खरै सम्पन्न भएको निर्वाचनको प्रतिवेदन बुझाउँदैछ । भोलिदेखि नै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । नयाँ सरकार गठन हुने दिन नजिकिँदै जाँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कन्फिडेन्टका साथ आफू प्रधानमन्त्री बन्ने पक्कापक्की भएको दावी गरेका छन् ।
पोखराको अन्नपूर्ण गाउँपालिकाको महेन्द्र आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्न लागेको बताएका छन् । उक्त कार्यक्रममा भने, ‘म देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु, यस पटक मेरो तेस्रो कार्यकाल हुनेछ ।’ अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया बुझ्न नपाई नै बित्यो, दास्रो कार्यकाल देशको लागि केही काम गरे भन्ने मलाई गर्व छ । अब तेस्रो कार्यकाल देशको नेतृत्व गर्दैछु ।’
अध्यक्ष प्रचण्डको कन्फिडेन्ट भनाईका आधारमा उनी भोलिबाट सुरु हुने सरकार गठनको पहिलो चरणमै प्रधानमन्त्री बन्ने पक्का देखिएको छ । तर, कुन टिमबाट प्रधानमन्त्री बन्दैछन् ? भन्ने जिज्ञाशामा प्रचण्ड निकट स्रोतले दुवै सम्भावना ५०।५० रहेको जानकारी दिएको छ । कांग्रेसको एउटा समुहले एमालेसँग गठबन्धन बनाउने प्रयास जारी राखेकोले जुनसकै अवस्था आउन सक्ने सूत्रहरुले जनाएका छन् । सधैं दुई वटा डुंगामा खुट्टा राखेर यात्रा गर्ने प्रचण्डले यस पटक वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैतर्फ राष्ट्रपतिको कार्ड फ्याकेर आफू प्रधानमन्त्री बन्ने प्रयत्नमा छन् । दुवैबाट ग्रिन सिग्नल आएकोले प्रचण्डले आज पोखरामा कन्फिडेन्ट्ली भाषण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
पछिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्न लागेको चर्चा एकातिर छ भने अर्कोतर्फ बाम गठबन्धनको तर्फबाट भएपनि प्रधानमन्त्री बन्ने प्रयत्न गरिरहेका छन् । पछिल्लो समय नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । माओवादी केन्द्र कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनावमा गएको थियो । मंगलबार माओवादीका महासचिव देव गुरुङले एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर गम्भिर वार्ता गरेपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाम गठबन्धन समेत तयार देखिएको रुपमा समेत हेरिएको छ ।
त्यसो त एमालेका युवा नेता महेश बस्नेतले लगातार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेको फ्याक्टरले समेत काम गरेको हुनसक्ने जनाइएको छ ।
दुई अवस्थामा प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना देखिए पनि राष्ट्रपतिको विषयमा अन्तिम छिनोफानो नभएसम्म अहिलेको निर्वाचनबाट नयाँ सरकार गठनको विषयमा ठोस निकास पाउन सम्भव छैन । त्यसैले शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवै प्रधानमन्त्रीका सम्भावित दावेदार हुन् भने केपी ओली पनि अर्का वैकल्पिक दावेदार हुन् । त्यसैले अर्थमन्त्रीको सन्दर्भमा कुरा गर्दा नेपाली कांग्रेसका नेता गगन थापा, डा. प्रकाशशरण महत, एमालेका नेता विष्णु पौडेल समेत अर्थमन्त्री बन्ने उत्तिकै सम्भावना बोकेका नेताहरु हुन् । एकाथरीले वर्तमान अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने दावी गरेपनि माओवादी र कांग्रेसभित्र धेरै नै बद्नाम भइसकेकोले उनी पुनः अर्थमन्त्री बन्ने सम्भावना न्यून रहेको बताइन्छ ।











