मूल्य बृद्धि अझै चर्किदै, कात्तिक महिनासम्म महँगी ८ प्रतिशत पुग्यो

काठमाडौ । चालु आर्थिक वर्ष २०७९।८० को कात्तिक मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति (महंगी) ८.०८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वित्तीय अवस्थाको विवरणअनुसार महँगी ह्वात्तै बढ्न पुगेको हो ।
अघिल्लो वर्षको यसै अवधिसम्म ६.०४ प्रतिशत रहेको मूल्य बृद्धि एक वर्षको अन्तरालमा २ प्रतिशतले बढेर कात्तिक मसान्तसम्म ८.०८ प्रतिशत पुगेको हो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्य सूचकाङ्क १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ ।












