उद्यमीलाई ज्यूदै जल्न बाध्य पारेर ब्रम्हलूट मच्चाउँदै बैंकिङ क्षेत्र

यही माघ १० गते नयाँ बानेश्वरमा प्रधानमन्त्री प्रचण्डकै अगाडि कृषि उद्यमी (व्यवसायी होइनन) प्रेम प्रसाद आचार्यले आत्मदाह गरे । प्रधानमन्त्रीकै अगाडि उद्यमीले आत्मदाह गरेको भोलिपल्ट नेपालका थुप्रै बैंकहरुले आफ्ना ऋणीहरुलाई ब्याजदर बृद्धि भएको भन्दै एसएमएस पठाए । माघ १० गतेको परिदृष्य र माघ ११ अनि १२ गतेका दुई फरक फरक सन्दर्भले नेपाली उद्यमीहरु जिउँदै आगो लगाउने अवस्था हुनाका कारण मध्ये प्रमुख कारण हो नेपालका बैंकहरु ।
एउटा घटना विशेषलाई सिंगो बैंकिङ क्षेत्रसँग जोडेर विश्लेषण गर्नु ठीक भनेर भन्न पनि सकिन्छ । तर, बैंकिङ क्षेत्र राज्यको अंगहरु मध्येको प्रमुख सेवा प्रदायक क्षेत्र हो । नेपालको बैंकिङ क्षेत्रले आजसम्म कुनै दिन घाटा खाएको सुनेका छौं (अपवाद बाहेक) ? यहाँ बैंकहरु डुब्नुपर्छ, बन्द हुनुपर्छ भन्न खोजिएको होइन । भुकम्प गयो, भारतले नाकाबन्दी बन्दी लगायो, मुलुकमा १०वर्षसम्म शसस्त्र द्धन्द भयो ।
कोरोना महामारीमा सिंगो देश ठप्प भयो तर कुनै नेपाली बैंकहरुले मात्र एक आर्थिक वर्ष घाटा सहेरै भएपनि उद्यमीहरुलाई बढि ब्याज लिन्न भन्ने नैतिकता कुनै बैंकहरुले देखाउन सके ? सकेनन् । त्यसैले समस्या छ भने देशकै सबैभन्दा ठूलो सेवा प्रदायक क्षेत्र बैंकिङमा समस्या छ । जम्मा १५, २० अर्ब लगानी गर्ने अनि ३०० अर्ब निक्षेप जम्मा गर्ने अनि सिंगो बैंक नै आफ्नो भएको दावी गर्ने सञ्चालक र सिईओहरुको मानसिकतामा समस्या छ । नेपालमा औद्योगिक व्यवसायको वातारण बनाउने सोचमा समस्या छ । १० अर्ब रुपैयाँ ऋण लिएर होलसेल गर्ने व्यवसायीलाई जति पनि छुट दिने अनि १० लाख रुपैयाँ ऋण लिएर उद्यम गर्ने व्यवसायीलाई किस्ता नआए धम्क्याउने चेतना बैंकरहरुमा हुँदासम्म माघ १० गते घट्ना एउटा विद्रोहको बीऊ बनेर सदा जीवित रहनेछ ।

नेपालका बैंकहरु ब्रम्हलूट मच्चाइरहेका छन् भनेर भन्दा कुनै अत्युक्ती हुँदैन । नियामक निकाय राष्ट्र, अर्थमन्त्रालय, राजनीतिक पार्टी सबैलाई चाहिएको कुरा दिएपछि बैंकहरुले घाटा किन खानु पर्यो र ? कोभिडमा सबै उद्योग, कलकारखाना बन्द भए तर बैंकको किस्ता रोकिएन । उनीहरुलाई अनलाईनबाटै भएपनि किस्ता असुल गरे । विश्वभर कोभिडको त्रास फैलिरहँदा घरभित्र आइसोलेशनमा बसेकाहरुलाई कोभिड भन्दा बैंकको आतंक बढि मच्चाइयो अनि लगानीकर्ताहरुको मुनाफा सुनिश्चित नहुने कुरै भएन । २० अर्ब लगानी, २०० अर्बको निक्षेप परिचालन गरेर व्यवसाय गर्न लाइसेन्स सरकारले दिएकोले राज्यको लोककल्याण भन्ने कुरा बैंकिङ क्षेत्रले भुलिसकेको छ ।
नभुल्नु पनि किन ? नेताहरुलाई चाहिने जागिर, ऋण, अन्य स्रोतहरुको व्यवस्थापन गरिदिएकै हुन्छ । दल र नेताहरु किन बोल्थे । नियामकलाई रिझाएकै छ, तैचुप मैचुप कुरा सकियो । बाँकी रह्यो सञ्चार माध्यमहरु । उनीहरुलाई विज्ञापन चाहिन्छ, केही लाख रुपैयाँको पिलिक पिलिक पार्ने विज्ञापन झल्काई दिएपछि सञ्चार गृहका मालिकहरुले पत्रकारहरुलाई बैंकभित्रको बेथिती सुघ्न पनि दिएका छैनन् । अब यि बैंकिङ क्षेत्रको प्रवृत्ति, व्यवहार, बैंकिङ गभर्नेन्सका विरुद्धमा बोल्ने कसले ? देश यत्रो महामारीमा फसेको छ । आज उद्यमीहरु जीउदै सडकमा आगो लगाएर आत्महत्या गर्न थालिसके तर, बैंकिङ क्षेत्रले पछिल्लो छ महिनामा ३० अर्ब रुपैयाँ खुद मुनाफा मात्रै कमाएका छन् । अझ त्यसमा कर तथा प्रोभिजन गरेको रकम घटाउने हो भने झण्डै ७० अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन् । यही रेसियोमा अघि बढेमा वर्ष दिनमा नेपालमा सञ्चालित बैंकहरुको कूल मुनाफा २०० अर्ब माथि हुनेछ । देशको कूल राजश्व कति ? ९०० अर्ब । अनि त्यसमा बैंकिङ क्षेत्रको मुनाफाको हिस्सा कति ? २२ प्रतिशत । हो, त्यसैले यो लूट मात्रै नभएर ब्रम्हलूट हो ।
बैंकिङ क्षेत्रले यसरी ब्रम्हलूट मच्चाइरहँदा प्रेम आचार्य झै धेरैको ज्यान गइरहेको छ । प्रेम आचार्यले आत्मदाह गरेकै दिन सप्तरीमा पाँच हजार रुपैयाँ ग्लोबल आईएमई लघुवित्त र महुली लघुवित्तको किस्ता तिर्न नसकेर रामदेव मरिकले आँपको रुखमा झुण्डिएर आत्महत्या गरे । बैंकिङ क्षेत्रको मुनाफामा प्रेम आचार्य र रामदेव मरिकहरुको रगत मिसिएको कुरा नेपाली बैंकरहरुले कहिले बुझ्ने ? अनि बैंकिङको यो ब्रम्हलूटप्रति मौन रहनेहरु सबैले प्राप्त गरेको लाभमा प्रेम आचार्य र रामदेव मरिकहरुको रगत पसिना मिसिएको छ भन्ने कुरा भुल्नु नहुने समय आएको छ ।
यो ब्रम्हलूटलाई छुट दिनेहरु सबैले म म गर्नुपर्ने समय अब आइसकेको छ । प्रेम आचार्यले लेखेको १३ हजार शब्दको दस्तावेजमा उल्लेख गरेको जीवन्त कथाले नयाँ विद्रोहको आधार तयार गर्दैछ । प्रेम आचार्यले रोपेको विद्रोहको बीऊले नयाँ आकार ग्रहण गरेमा नेपालका धेरै चिजबिजहरुले पुनर्संरचनाको सामना गर्नुपर्ने तर्फ सबैले सोच्ने हो कि ?












