जानकी फाइनान्सद्वारा २६औं वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार २१ गते बसेको संचालक समितिको बैठकले बार्षिक साधारणसभा साउन १३ गते, मसाला कटेज, जनकपुरधाममा बस्ने निर्णय गरेको हो । सभा बिहान ९ बजे सूरु हुने भएको छ ।
सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा आव २०७८।७९ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
सभाले लेखापरीक्षण समितिको सिफारिस अनुसार सञ्चालक समितिले अनुमोदन गरे बमोजिम आर्थिक वर्ष २०७९।८० को हरहिसाब लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने भएको छ ।
सभाले जानकी फाइनान्स कम्पनी लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिन वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानको लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोवारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रकृया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
कम्पनीले वार्षिक साधारण सभा प्रयोजनको लागि साउन २ गतेदेखि १३ गतेसम्म बुक्क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ साउन १ गतेसम्म कायम शेयरधनीहरुले मात्रै वार्षिक साधारण सभामा सहभागि हुन पाउनेछन् ।












