बुटवल पावर कम्पनीको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

२६ श्रावण २०८०, शुक्रबार ०९:४३

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीले आज प्रकाशित गरेको विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ७२ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री गरी ७७ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १००.९१ प्रतिशतले बढेर ८ करोड ४ लाख रुपैयाँ पुुगेको छ । यस्तै, सञ्चालन मुनाफा ६.१९ प्रतिशतले घटेर २४ करोड ५६ लाख रुपैयाँमा सीमित रहको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले २७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६० पैसा घटेर ७ रुपैयाँ ८४ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.१६ गुणा रहेको छ ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*