महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैनः अर्थमन्त्री डा. महत

काठमाडौं । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अघि बढेको जानकारी दिएका हुन् ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै महतले, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन । सुन्दा यो सामान्य जस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दूरगामी अवधारणा हो । महत्त्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।’ उनले भने ।
पुरुषहरु तिव्र रुपमा विदेशिदा नेपालमा महिलाले मात्र स्थिरता दिन सक्ने कुरालाई अघि बढाउदै महतले, ‘नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशिन्छन् । महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ । त्यसैले यहाँ कसैले स्थिरता दिनसक्छन् भने त्यो महिलाहरुले मात्र दिन सक्छन् । मन्त्री डा. महतले भने, ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको छ । यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्छ ।’
देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता छ । घर–घरमा उत्पादन भएका विभिन्न सामाग्रीहरु व्यवसायीले निर्यात गरिरहेका छन् । आईटी सेक्टर पनि जोडिन थालेको भन्दै मन्त्री डा. महतले भने, ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । डिटिजल संसारले एउटा अवसर पनि दिएको छ । बजारिकरण सहजै रुपमा गर्न सकिन्छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।’
सा–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुर्याउनुपर्छ । यसमा सरकारले भरपूर सहयोग गर्छ । दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सक्यो भने काम लाग्न सक्ने मन्त्री डा. महतले उल्लेख गरे ।












