मर्चवारी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अर्यालसहित ७ जना विरुद्ध भष्ट्राचारको अभियोगमा अदालतमा मुद्दा दायर

काठमाडौं । रूपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालीम कार्यक्रमहरुमा कमिशन लिएको आरोपको आधारमा अनुसन्धान गर्ने क्रममा अर्यालसहित ७ जनाले भष्ट्राचार गरेको दाबी अख्तियारले गरेको छ ।
अवैध कमिशन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलिएको र सोही खातामा विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं रकम भ्रष्टाचार गरी कमिशनको रुपमा जम्मा गराइएको अख्तियारले ठहर गरेको छ ।
मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवन कुमार अर्याल, वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष नारायण बहादुर यादव, वडा नम्बर ५ र ६ का वडा सचिव गुलाब यादव, सम्वृद्ध नेपाल ईनर्जीका प्रोपाईटर बिनोद बाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ्ग ईन्टिच्युटका प्रोपाईटर अमरिश यादवमाथि अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले अर्यालबाट घुस लिएको १३ लाख ४५ हजार रुपैयाँ जफत, त्यस अनुसारको जरिवाना र कैद सजायको मागदाबी लिएको छ । उनका छोरा पवनकुमारसँग पनि सोही बिगो रकम बमोजिमको सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको छ ।












