दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच सम्झौता, खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गर्ने समझदारी

काठमाडौं । नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रा.लि. र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ ।
उक्त समझदारी अनुसार खानेपाानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एकआपसमा प्रविधि सहयोग, कार्यशाला गोष्ठि, अनुभव आदान प्रदान, विभिन्न किसिमका तालिम सञ्चालन गर्ने तथा अनुसन्धान कार्यहरू गरिनेछ । समझदारीपत्रमा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र स्मार्ट सोलुसनका तर्फबाट अध्यक्ष ई. रामदीप शाहले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाह लगायत दुईवटै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
हालसम्म करिब ८ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोले दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरी लागु गरिरहेको छ ।
करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एन.आर.डब्लु. (पानी चुवाहट विश्लेषण ) प्रविधि,ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लीकेशन, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर, ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ ।
यसै गरी स्मार्ट वास सोलुसनले विगत ५ वर्ष देखि खानेपानी तथा सरसफाई क्षेत्रमा रहेका समस्याहरूलाई न्यूनिकरण गर्न तथा सुशासनमा सुधार गर्न आवश्यक नँया प्रविधिहरूको विकास, केन्द्र तथा प्रदेशमा खानेपानी तथा सरसफाई क्षेत्रमा नीतिगत तथा कानूनमा सुधार गर्न बहस तथा पैरवी गर्ने, तथा सरोकारवाला निकायहरूको क्षमता अभिबृद्धि गर्ने, अनुसन्धान गर्ने, विभिन्न विषयमा सभा, गोष्ठी तथा सेमिनार जस्ता क्रियाकलापहरू संचालन गर्दै आइरहेको छ ।
यो समझदारी पश्चात खानेपानी तथा सरसफाई क्षेत्रको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।












