१२ वर्षमा ४२ परियोजनाका लागि १२ खर्व ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्ड नेपालको आफ्नो १२औं बर्ष पूरा गरेको छ । शुक्रबार बोर्डले आफ्नो १२ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।बोर्डले स्थापनाको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनाका लागि १२ खर्व ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेकको बताएको छ ।
यस अवधिमा ५ खर्च २५ अर्ब रुपैयाँ बरावरको लगानी परिचालन भएको छ । त्यस्तै ६ हजार र ३ हजार टन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होङसी शिवम् सिमेन्ट र हुवासिन सिमेन्ट परियोजना व्यावसायिक रुपमा सञ्चालनमा आएका छन् ।
धरानमा वेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
९ सय मेगावाटको अरुण–३ जलविद्युत् परियोजना, २ सय १६ मेगावाटको माथिल्लो त्रिशुली लगायतका परियोजना कार्यान्वयनका क्रममा छन् भने ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेको बोर्डले जानकार दिएको छ ।
४ सय ५० मेगावाटको सेती नदी – ६ सहित राष्ट्रिय गौरवको ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० पनि तयार हुँदैछ । यसका साथै ३ सय २७ मेगावाटको अपर मर्स्याङ्दी–२ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भैरहेको छ र पीडीएको तयारी समेत शुरु भएको लगानी बोर्डले जानकारी दिएको हो ।
नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले पनि यसै अवधिमा उत्पादन वृद्धि र विविधिकरणका लागि ९ अर्व ६८ करोड रुपैयाँ बराबरको पुनर्लगानीसमेत गर्ने बोर्डले जानकारी दिएको छ । यस्तै लगानी बोर्डको ५५ औं बैठकबाट चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भै वार्ता समितीले कार्य थालनी गरिसकेको छ ।
यस अवधिमा लगानी बोर्डले लगानी बोर्डको कार्यालयलाई सार्वजनिक निजी साझेदारी ९पीपीपी० को विशिष्टिकृत संस्थाको रूपमा विकास गर्न र संस्थागत सुदृढीकरणको पाटोमा महत्वपूर्ण कार्यहरू गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए ।
यस्तै बोर्डको बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्न पुगेको प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले मुलुकमा रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत् समावेशी र उत्थानशील विकासको आधार सिर्जना गर्न विदेशी लगानी समेत निजी लगानीको अपरिहार्यता रहेको उल्लेख गरे ।












