इजरायलमा दोहोरो भीडन्त जारी, घाइते नेपालीद्वारा उद्धारको अपिल

२१ आश्विन २०८०, आईतवार ०९:५२

काठमाडौं । इजरायलमा हमास विद्रोहीको आक्रमणमा परेर घाइते भएका नेपालीले उद्धारका लागि आग्रह गरेका छन् । शनिबार भएको आक्रमणमा परेर ९ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

अन्य नेपालीहरु पनि बंकर मुनि लुकेर ज्यान जोगाइरहेका र सरकारलाई छिटो उद्धार गरिदिन आग्रह गरिरहेका छन् । नेपालले इजरायलमा भएको आक्रमणको निन्दा गरेको छ । पररष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर यो आक्रमणको निन्दा गरेको हो ।

कृषि विषय अध्ययनसँगै केयरगिभर लगायत अन्य ऋम गर्न नेपालीहरु इजरायल पुग्ने गरेका छन् । इजरायलले कृषि क्षेत्रमा गरेका नयाँ–नयाँ प्रयोग र त्यसमा हासिल गरेको सफलतालाई विश्वमै उदाहरणीय मानिन्छ ।

शनिबार एक्कासी इजरायलको गाजापट्टीमा हजारौं रकेट आक्रमण भएका थिए । यसैगरी अत्याधुनिक हतियार र बख्तरबन्ध गाडीले सुसज्जित हमास लडाकुहरु कडा सुरक्षा घेरा तोड्दै इजरायलको भूमिमा छिर्न सफल भएका थिए । तर हमासले आक्रमण गर्दैछ भन्ने पूर्व संकेत इजरायलले पाउन नसकेको भन्दै गुप्तचरहरुमाथि प्रश्न उठेको छ ।

इजरायलको घरेलु जाँच एजेन्सी शिनबेत र विदेशमा जासुसी गर्ने गुप्तचर एजेन्सी मोसाद क्रियाशील छन् । इजरायलको गुप्तचर एजेन्टलाई पश्चिम एसियामै उत्कृष्ट र संशाधनले भरिपूर्ण मानिन्छ । यस्तै इजरायली सेना विश्वमै शक्तिशालीमध्ये गनिन्छन् । तर, यो पल्ट उनीहरु चुकेको र अहिलेसम्मकै घातक आक्रमण भएको बताइएको छ ।

यस्तै, इजरायली सेना र प्यालेस्टाइन विद्रोही समूह हमासबीच लडाइ जारी छ । आक्रमणमा ४५० जना इजरायली नागरिकको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

इजरायलको जवाफी आक्रमणमा परी करिब २०० प्यालेस्टाइनीको मृत्यु र एक हजार बढी घाइते भएको विवरणहरु विभिन्न समाचार एजेन्सीहरुले दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*