पार्किङमै जलेर खरानी बन्यो बिवाईडी एटो ३, साइमेक्स इन्क भन्छ, ‘प्राविधिक कमजोरी भेटिएन’

७ जेष्ठ २०८३, बिहीबार ११:३२

काठमाडौँ । नेपाली अटो बजारमा तीव्र गतिले लोकप्रियता हासिल गरिरहेको चिनियाँ विद्युतीय सवारी ब्रान्ड बिवाईडी निरन्तर विवादको केन्द्रमा परिरहेको छ । मोरङको पथरी क्षेत्रमा पार्किङमा राखिएको बिवाईडी एटो ३ मा अचानक आगलागी घटना फेरी बाहिरिएको हो ।

झापाको दमकबाट जन्ती लिएर करिब १८ किलोमिटर यात्रा तय गर्दै मोरङ पथरीमा आएको गाडी पार्किङमा राखेको बेला गत मे ७ मा आगलागी भएको हो । सडक छेउको सामुदायिक जंगल क्षेत्रमा रोकेर राखिएको अवस्थामा अचानक आगलागी भएको बताइएको छ । पार्किङमा राखेको केहि समयमा नै उक्त गाडीमा अचानक धुवाँ निस्किन थालेपछि केहीबेरमै आगोले भीषण रूप लिएको स्थानीयले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार सुरुमा गाडीको अगाडिको भागबाट हल्का धुवाँ निस्किएको देखिएको थियो । चालकले ड्यासबोर्ड आसपासबाट धुवाँ आएको देखेपछि तत्काल लो–भोल्टेज विद्युत् जडान छुट्याउने प्रयास गरेका थिए । तर, त्यसपछि आगो झन् तीव्र बनेको र केही मिनेटभित्रै गाडीको अधिकांश भागमा फैलिएको बताइएको छ ।

स्थानीयले पानी र अन्य साधन प्रयोग गरेर आगो नियन्त्रण गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् । आगो नियन्त्रणबाहिर जाँदा गाडीबाट ठूलो आवाजसहित विस्फोटसमेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि गाडी पूर्ण रूपमा जलेर खरानी बनेको छ । आगलागीका क्रममा कुनै मानवीय क्षति नभएको जनाइएको छ । पार्किङमा राखिएको अवस्थामा, इन्जिन बन्द रहेको गाडीमा अचानक आगलागी भएको विवरण सार्वजनिक भएपछि धेरैले विद्युतीय सवारीको सुरक्षा प्रणालीमाथि प्रश्न उठाउन थालेका छन् ।

नेपालमा बिवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले भने प्रारम्भिक प्राविधिक निरीक्षणमा उच्च–भोल्टेज ब्याट्री वा पावरट्रेन प्रणालीमा कुनै खराबी नदेखिएको दाबी गरेको छ । साइमेक्सले जारी गरेको जानकारीअनुसार ब्लेड ब्याट्री, मोटर, ट्रान्समिसन तथा अन्य मुख्य विद्युतीय प्रणाली सुरक्षित अवस्थामा भेटिएको कम्पनीको भनाइ छ । कम्पनीले ब्याट्री प्याकमा कुनै ‘सर्ट सर्किट’, विद्युतीय असामान्यता वा ‘थर्मल रनअवे’ को संकेत नपाइएको दाबी गरेको छ ।

कम्पनीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाउँदै वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोलीले थप अध्ययन गरिरहेको जानकारी दिएको छ ।

पछिल्लो समय नेपाली बजारमा बिवाईडीका सवारीमा आगलागीको घटना नियन्त्रण बढ्दै गएको देखिएको छ । नेपाल अटो बजारलाई नै त्रसित बनाउने गरी बिवाईडीका बिभिन्न ब्रान्डमा आगलागीको घटना बढ्दै गएसँगै उपभोक्ता कम्पनीको गुणस्तर माथि नै प्रश्न उठाइरहेका छन् ।

नेपाली बजारमा बिवाइडी एटो ३ एड्भान्स ५९ लाख ९९ हजार र एटो ३ सुपेरियर ६७ लाख ८० हजार रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*