हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई ‘ए माइनस’ रेटिङ, वित्तीय विश्वसनीयतामा उच्च मूल्याङ्कन

१ जेष्ठ २०८३, शुक्रबार ११:२५

काठमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्रमा तीव्र रूपमा विस्तार भइरहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले वित्तीय विश्वसनीयता र व्यवसायिक क्षमतामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । रेटिङ एजेन्सि इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी-आईआर ए माइनस’ रेटिङ प्रदान गरेको हो ।

इक्रा नेपालको मूल्यांकनअनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम, न्यून कर्जा जोखिम भएको तथा पर्याप्त सुरक्षा क्षमता भएको कम्पनीका रूपमा स्थापित भएको छ । यस्तो रेटिङले कम्पनीप्रति ग्राहक, लगानीकर्ता तथा व्यवसायिक साझेदारहरूको विश्वास अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीचको सफल मर्जरपछि बनेको कम्पनीले छोटो अवधिमै उल्लेखनीय व्यवसायिक विस्तार गर्दै निर्जीवन बीमा क्षेत्रका अग्रणी संस्थामध्ये आफ्नो स्थान मजबुत बनाएको छ । दुई दशकभन्दा लामो अनुभव बोकेका दुई संस्थाको एकीकरणले कम्पनीलाई बलियो पूँजी आधार, व्यापक शाखा सञ्जाल, अनुभवी व्यवस्थापन तथा ठूलो बजार हिस्सा दिलाएको इक्रा नेपालको निष्कर्ष छ ।

मर्जरपछि कम्पनीको सञ्चालन क्षमता उल्लेखनीय रूपमा सुधारिएको देखिएको छ । व्यवसाय विस्तारसँगै लागत व्यवस्थापनमा प्रभावकारिता आएको, सञ्चालन दक्षता बढेको तथा अन्डरराइटिङ प्रदर्शन सुदृढ बनेको मूल्यांकन गरिएको छ । मध्य जुलाई २०२५ सम्मका पछिल्ला तीन आर्थिक वर्षमा कम्पनीको औसत संयुक्त अनुपात करिब ८० प्रतिशत रहनु कम्पनीको सुदृढ जोखिम व्यवस्थापन र नाफामुखी व्यवसायिक रणनीतिको संकेत मानिएको छ ।

कम्पनीको सोल्भेन्सी अवस्था अझ प्रभावशाली देखिएको छ । नियामकीय न्यूनतम सीमाभन्दा धेरै माथि रहँदै कम्पनीको सोल्भेन्सी अनुपात ४.३८ गुणा पुगेको छ। यसले कम्पनीसँग भविष्यमा आउने जोखिम सामना गर्ने पर्याप्त क्षमता रहेको देखाएको हो । नेपालको निर्जीवन बीमा क्षेत्रमा अझै व्यापक सम्भावना रहेकाले हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दीर्घकालीन लाभ लिन सक्ने कम्पनीका रूपमा हेरिएको छ ।

इक्रा नेपालले कम्पनीको अनुभवी व्यवस्थापन टोली र पुनर्बीमा व्यवस्थालाई पनि सकारात्मक रूपमा मूल्यांकन गरेको छ । व्यवसायको आकार तीव्र रूपमा बढिरहेका बेला कम्पनीले जोखिम व्यवस्थापन संरचनालाई थप मजबुत बनाउँदै लगेको तथा विपद् जोखिम कभरेजमा समेत सुधार गरेको उल्लेख गरिएको छ । गत वर्ष भएका आन्दोलन तथा बाढी–पहिरोबाट उत्पन्न दाबी व्यवस्थापनमा कम्पनीले देखाएको क्षमता पनि उल्लेखनीय मानिएको छ । ठूलो परिमाणका दाबी आए पनि कम्पनीको तरलता अवस्था, बलियो वित्तीय आधार तथा पुनर्बीमा संरचनाले जोखिम व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको इक्रा नेपालको भनाइ छ । यसले कम्पनीको संकट व्यवस्थापन क्षमता र वित्तीय सहनशीलता दुवैलाई पुष्टि गरेको विश्लेषण गरिएको छ ।

सम्पत्ति तथा इन्जिनियरिङ बीमाजस्ता क्षेत्रमा कम्पनीले आफ्नो उपस्थिति विस्तार गर्दै गएको देखिएको छ। यसले व्यवसायलाई थप विविधीकरण गर्न मद्दत पुग्नुका साथै दीर्घकालीन रूपमा आम्दानीको आधार बलियो बनाउने अपेक्षा गरिएको छ । इक्रा नेपालको मूल्यांकनले हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई वित्तीय रूपमा सबल, व्यवस्थापन दृष्टिले सक्षम तथा दीर्घकालीन सम्भावना बोकेको कम्पनीका रूपमा प्रस्तुत गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको बबरमहलमा रहेको छ । २०२५ जुलाई मध्यसम्म आइपुग्दा कम्पनीका प्रमुख सेयरधनीहरूमा महेन्द्र कृष्ण श्रेष्ठको ८.५ प्रतिशत हिस्सा रहेको छ । त्यसैगरी विक्रम कृष्ण श्रेष्ठको करिब ७.२ प्रतिशत, विनोद कृष्ण श्रेष्ठको ६.६ प्रतिशत, सुवर्ण कृष्ण श्रेष्ठको ६.६ प्रतिशत, पंकज झुनझुनवालाको ६.३ प्रतिशत, राजेन्द्र कुमार खेतानको ४.९ प्रतिशत तथा लक्ष्मी सनराइज बैंक लिमिटेडको ३.६ प्रतिशत सेयर हिस्सा रहेको छ ।

कम्पनीले देशभर ८५ वटा शाखामार्फत सेवा विस्तार गरेको छ । निर्जीवन बीमा क्षेत्रमा कम्पनीको कुल बीमा शुल्क आम्दानीतर्फ करिब ११ प्रतिशत बजार हिस्सा रहेको उल्लेख गरिएको छ जसले कम्पनीलाई नेपालको ठूला निर्जीवन बीमा कम्पनीहरूमध्ये एकको रूपमा स्थापित गरेको देखिन्छ । कम्पनीमा संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात करिब ५२ः४८ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*