केन्द्रीय समिति गठन गर्दै राष्ट्रिय बीमा अभिकर्ता संघ सानिमा रिलायन्सको प्रथम भेला सम्पन्न, हेर्नुहोस् २१ तस्बिर

काठमाडौँ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ अन्तर्गत सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम केन्द्रीय भेला सम्पन्न भएको छ। भेला संघका अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। भेलाले नमिता न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अमात्यले बीमा अभिकर्तासँग सम्बन्धित विद्यमान नियमावली संशोधन आवश्यक रहेको बताएका छन्। उनले नियमावलीमा धेरै गलत नीतिहरू समावेश भएकाले त्यसलाई समयानुकूल संशोधन गर्नुपर्ने धारणा राखे। अभिकर्ताको अधिकार खोस्ने प्रयास स्वीकार्य नहुने उल्लेख गर्दै उनले बीमा अभिकर्ताको हकहित संरक्षणका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए।

उनले अहिलेको नियमावलीले अभिकर्तालाई सिध्याउने र उनीहरूको पसिना तथा मेहनतको उचित मूल्य नदिने खालको व्यवस्था गरेको आरोप लगाए। चैत महिनाभित्र सबै बीमा कम्पनीहरूमा समिति गठन गरिने जानकारी दिँदै अमात्यले आम सर्वसाधारणलाई बीमालाई सुरक्षाको भरपर्दो थलोका रूपमा विकास गर्न संघले भूमिका खेल्ने बताए।
भेलाकी सभापति तथा कम्पनीकी एकमात्र टिओटि अभिकर्ता नमिता न्यौपानेले संघ विरोधका लागि नभई पेशालाई व्यवस्थित बनाउन गठन गरिएको स्पष्ट पारिन्। उनले संघ सधैं सकारात्मक ढंगले अघि बढ्ने उल्लेख गर्दै कम्पनीलाई आफूहरूको कर्मथलोका रूपमा सम्मान गर्ने र विगतमा जस्तै भविष्यमा पनि कम्पनीसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्न चाहेको बताइन्।

न्यौपानेले अभिकर्ताहरूले परिणाममुखी काम गरेर कम्पनीसमक्ष आफ्ना माग राख्नुपर्ने धारणा व्यक्त गरिन्। ‘हामी व्यवसायी अभिकर्ता हुनुपर्छ, त्यसो हुन सके आम्दानी पनि बढ्छ र कम्पनी पनि व्यवस्थित हुन्छ’ उनले भनिन्।
राष्ट्रिय बीमा अभिकर्ता संघ सानिमा रिलायन्सको केन्द्रीय समिति गठन, नमिता न्यौपाने अध्यक्ष चयन
उनले आफूले एक करोड रुपैयाँ आम्दानी गर्दा ४९ लाख रुपैयाँ सरकारलाई कर तिरेको उल्लेख गर्दै अभिकर्ताले यति धेरै योगदान गर्दा पनि कम्पनीबाट एउटा गाडी किन्नसमेत ऋण सुविधा नपाउने अवस्था रहेको गुनासो गरिन्। आगामी दिनमा अभिकर्ताहरूको सुख–दुःखमा संघ साथमा रहने प्रतिबद्धता समेत उनले व्यक्त गरिन्।































