तत्काल लकडाउन नहुने, घर फर्कनेलाई ४८ घण्टा समय दिने काठमाडौं प्रशासनको निर्णय

१३ बैशाख २०७८, सोमबार १६:१९

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएको राजधानी काठमाडौंमा तत्काल लकडाउन नहुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आजको बैठकबाट लकडाउन गर्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको बताए । सिडिओ पराजुलीका अनुसार राजधानी काठमाडौंबाट घर फर्कन चाहनेलाई दुई दिन (४८) घण्टाको समय दिएर निषेधाज्ञा लगाउने बारे आज छलफल भएको छ ।

सो अनुसार आजै वा भोलि नै लकडाउन हुनेछैन । घर फर्कन चाहनेलाई बुधबारसम्मको समय दिएर बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गर्ने सम्बन्धमा तीन वटै प्रशासन कार्यालयले छलफल गरिरहेको जानकारी दिए ।

यद्यपि संघीय सरकारले त्यसअघि नै निर्णय गरेमा भने लकडाउन वा निषेधाज्ञा लागू हुनेछ । उनले संक्रामक रोग निवारण ऐन अनुसार जिल्ला प्रशासन कार्यालयलाई समेत त्यस्तो अधिकार दिइएकोले राजधानी उपत्यकालाई भाइरसको संक्रमणबाट मुक्त बनाउन आजैदेखि कडाई गरिने बताए । घर बाहिर निस्कदा अनिवार्य मास्क र २५ जनाभन्दा बढि सहभागी हुने जुनसुकै प्रकारको सहभागिता निषेध गरिएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*