निषेधाज्ञा उल्लंघन गर्ने सयौं सवारी साधन प्रहरी नियन्त्रणमा

दर्जनौं नागरिक होल्डिङ सेन्टरमा थुनिए, अटेर गर्ने पक्राउ गर्न टुकुचामा मेशिनको प्रयोग
१४ जेष्ठ २०७८, शुक्रबार ०९:१६

काठमाडौं । आजदेखि स्थानीय प्रशासनले जारी गरेको कडा निषेधाज्ञा उल्लंघन गर्दै सडकमा गुडाइएका सयौं सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ । सयौं सर्वसाधारण समेत पानीमा भिज्दै होल्डिङ सेन्टरमा थुनिएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय प्रशासनले आजदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सेवाहरु जेठ २० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सो निर्णयको उल्लंघनकर्ता सवारी साधन तथा पैदल यात्रु दुवैलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

पक्राउ पर्ने सवारी साधनहरुलाई आवश्यक प्रक्रिया पूरा गरी छोडिने जनाइएको छ । त्यसैगरी, होल्डिङ सेन्टरमा थुनिएका सर्वसाधारणलाई केही समय राखेर छोडिने प्रहरीले जनाएको छ । आज पहिलो दिन भएकोले संक्रामक रोग अध्यादेश अनुसारको जरिवना नलगाउने भनिए पनि अटेर गर्ने, झगडा गर्न खोज्नेमाथि लगाउनुपर्ने हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले महाराजगन्ज, लाजिम्पाट, लैनचौर, कालिमाटी, पुतलीसडक, नयाँ बानेश्वर, कोटेश्वर क्षेत्रमा सयौं सवारी साधनहरु पक्राउ गरेको छ । सोही स्थानमा दर्जनौं नागरिक होल्डिङ सेन्टरमा राखिएका छन् ।

यसैबीच, पुतलीसडकको टुकुचास्थित तरकारी बजारमा अत्याधिक भिड भएपछि प्रहरीले मेशिन प्रयोग गरेर पैदल यात्रुहरुलाई पक्राउ गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*