कृषि बीमामा अनुदान कटौती गर्ने सरकारको बदनियत, ‘किसानको खोस्ने धनीलाई पोस्ने’

२० जेष्ठ २०७८, बिहीबार ११:५७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट किसानलाई पशु तथा कृषि बीमा गर्दा बीमा शुल्कमा दिइदै आएको अनुदान रकममा भारी कटौति गरेको छ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आगामी आर्थिक वर्षदेखि कृषि तथा पशु बीमामा दिइदै आएको कूल बीमा शुल्कको ७५ प्रतिशत बीमा शुल्क अनुदान दिने व्यवस्थालाई घटाएर ५० प्रतिशतमा सीमित गरेको छ ।

सरकारले कृषि तथा पशु बीमामा दिँदै आएको अनुदान कटौती गरेपछि किसानहरुले आक्रोसित बनेका छन् । नेपालकै ठूलो तथा एक मात्र अस्ट्रिच फारमका सञ्चालक सिपी शर्माले किसानमाथि सरकारले अन्याय गरेको बताए । सञ्चालक शर्माले सरकारले अन्जानमा गरेको हुनसक्ने भन्दै सच्चिएर आउने आशा व्यक्त गरेका छन् । बीमापोष्टसँग कुरागर्दै शर्माले भने, ‘नेपालमा किसानमा पुगेको पारदर्शी अनुदान कृषि बीमा मात्रै हो, कही कतै दुरुपयोग नहुने क्षेत्रमा दिइएको अनुदान कटौती गरेकै हो भने सरकारको नियत गलत छ ।’ उनले किसानको पक्षमा आवाज बुलन्द गर्नुपर्ने बताउँदै बीमा समिति र कृषि मन्त्रालयले पूर्ववत अनुदान कायम राख्न भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । शर्माले भने, ‘कृषि बीमाको अबधारणामा फर्कौ, किसानलाई बीमाप्रति आकर्षण गर्न, कृषि उत्पादनको उत्पादकत्व बृद्धि गर्न, उत्पादन बढाउन र किसानलाई प्रोत्साहन गर्न ल्याइएको नीति जे सुकै बाहनामा कतौती गरिएको भएपनि त्रुटीपूर्ण छ ।’ किसान बीमाप्रति आकर्षण हुन लाग्दै गरेको अवस्थामा अनुदानमा कतौती गरिएको बताए ।

सिपी शर्मा मात्रै होइन, देशभरिका अधिकांश किसानहरु कृषि बीमामा दिइदै आएको अनुदान कटौती गरिएकोमा आक्रोसित र स्तब्ध छन् । सिन्धुलीस्थित नमुना बाख्रा फार्मका सञ्चालक राजु बरालले सरकारले कृषि बीमामा दिइदै आएको अनुदान कटौती गरेर आफ्नै खुट्टामा बन्चरो प्रहार गरेको आरोप लगाए । उनले कृषि उत्पादन बृद्धि भई मुलुकको कूल ग्राहस्थ उत्पादनमा योगदान पुग्ने क्षेत्रमा गएको अनुदान कटौती गर्दा देशलाई घाटा हुन्छ कि किसानलाई ? जवाफ दिन सरकरसँग आग्रह गरेका छन् ।


सरकारले कृषि बीमाको अनुदानमा कटौति गरेपछि माछा तथा बाली बीमा समेत घट्ने सम्बन्धित किसानहरुको भनाई छ । पर्साको ठोरी नजिकै माछा व्यवसाय गर्दै आएका नन्दु श्रीवास्तव समेत किसान माथि सरकारले अन्याय गरेको बताउँछन् । सरकारले दिँदै आएको अनुदान कटौती गर्नु नेपालमा निर्जिवन बीमा व्यवसाय कैयौं वर्ष पछाडि धकेलिने बीमा क्षेत्रका जानकारहरु बताउँछन् ।

बीमालाई तल्लो तहका किसानसम्म पुर्याउने उद्देश्यले किसानलाई दिइदै आएको अनुदान बढाउनुपर्नेमा घटाउने कार्य झनै गलत भएको बीमा विज्ञ रविन्द्र घिमिरे बताउँछन् । सरकारले कृषि बीमामा दिँदै आएको अनुदान कटौती गरेर ऐतिहासिक भूल गरेको दावी गर्दै तत्काल पुरानै व्यवस्था कायम गर्न सबै एकजुट हुन आह्वान गरेका छन् ।

हुन पनि महंगा गाडी चढ्नेलाई भन्सार समेत छुट दिने सरकारले किसानलाई दिँदै आएको अनुदान खोस्ने समाजवादी अर्थव्यवस्थाको सिद्धान्त विपरित नीति हो । आफ्नै राजनीतिक, बैचारिक सिद्धान्तबाट च्यूत हुने गरी कृषि बीमाको कटौती गर्ने कार्यको चौतर्फी आलोचना र विरोध बढ्दै जान थालेको छ ।

 

2 thoughts on “कृषि बीमामा अनुदान कटौती गर्ने सरकारको बदनियत, ‘किसानको खोस्ने धनीलाई पोस्ने’

  1. राज कुमार श्रेष्ठ says:

    सच्चा किसान लाई त मर्का परेकै छ तर नेपाल ठग किसान को बिगबिगी छ १० ओटा भैंसी पालेर एक करोड कृषि लोन लिने १०० भैंसी को इन्स्योरेन्स गराउने चलन चलेको छ ।यस्मा अलि नियमन गर्न पर्छ कि ।

  2. milan lohani, pokhara says:

    किसान मारा सरकारको विरुद्धमा सबै किसान एकजुट हुनपर्छ । सबै मिलेर कृषि बीमाको अनुदान खारेज फिर्ता गर्न दवाव सिर्जना गरौं ।

Leave a Reply to राज कुमार श्रेष्ठ Cancel reply

Your email address will not be published. Required fields are marked *


*