९ महिनामा वाणिज्य बैंकको नाफा ४९ अर्ब २१ करोड, कुनले कति कमाए ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा वाणिज्य बैंकको नाफा ४९ अर्ब नाघेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्यले चालु आर्थिक वर्षको ९ महिनामा ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
बैंकलेहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ रहेको थियो ।
यसअवधिमा ७ बैंकको नाफा घटेको छ भने १३ बैंकको बढेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । ९ महिनाको अवधिमा बैंकले आफ्नो नाफा ३३.९२ प्रतिशतले बढाएर ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ५ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।

ग्लोबल आईएमई बैंकको नाफा झिनो अकंले घटेपनि समिक्षा अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंकको सूचीमा दोस्रो नम्बरमा रहेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको नाफा ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा भने २.९३ प्रतिशतले कम हो ।
सर्वाधिक नाफा वृद्धि गर्ने कुमारी बैंक धेरै नाफा गर्ने सूचीको समेत तेस्रो नम्बरमा रहेको छ । बैंकको नाफा १३५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
यता, एभरेष्ट बैंकको नाफा ३.७१ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड रुपैयाँ रहेको हो ।
९ महिनाको अवधिमा क्रमशः प्राइम बैंकको नाफा ३८.५८ प्रतिशतले बढेर ३ अर्ब ८ करोड, नेपाल बैंकको ०.३४ प्रतिशत २ अर्ब ७९ करोड, राष्ट्रिय बाणिज्य बैंकको १२९.३४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड, एनएमबि बैंकको १३.२५ प्रतिशतले बढेर२ अर्ब ६८ करोड, सानिमा बैंकको ४२.२२ प्रतिशतले बढेर २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
स्टान्र्डड चार्टड बैंकको नाफा भने ४.२४ प्रतिशतले घटेको छ । बैंकले ९ महिनाको अवधिमा २ अर्ब ८ करोड नाफा आर्जन गरेको हो ।
लक्ष्मी सनराइज बैंकको नाफा २३.३६ प्रतिशतले बढेर २ अर्ब ३ करोड, सिद्धार्थ बैंकको २० प्रतिशतले बढेर २ अर्ब १ करोड, माछापुच्छ्रे बैंकको ५० प्रतिशतले बढेर १ अर्ब ६५ करोड र नेपाल एबिआई बैंकको २१ प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो ।
समिक्षा अवधिमा कृषि विकास बैंकको नाफा २४.४२ प्रतिशतले घटेर १ अर्ब ३९ करोडमा सीमित भएको भने सिटिजन्स बैंकको ३५ प्रतिशतले बढेर १ अर्ब ३० करोड पुगेको छ । प्रभु बैंकको नाफा ५४ प्रतिशतले घटेर ८५ करोड रुपैयाँमा खुम्चिएको हो ।
हिमालयन बैंकको नाफा ५२ प्रतिशतले बढेको छ भने एनआईसी एशिया बैंकको नाफा १० प्रतिशतले घटेर १४ करोडमा खुम्चिएको छ ।











