शिखर इन्स्योरेन्स कम्पनी १८औं वर्षमा, कृषि बीमालाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउने प्रतिबद्धता

२ मंसिर २०७८, बिहीबार १५:१४

काठमाडौं । २०६१ साल मंसिर २ गतेबाट औपचारिक रुपमा संचालनमा आएको शिखर इन्स्योरेन्स कम्पनी आजबाट १८ औं वर्षमा प्रवेश गरेको छ । १७ वर्ष अघि आजैका दिनबाट औपचारिक रुपमा कारोबार सुरु गरेको कम्पनी आज देशकै सबैभन्दा अग्रणी निर्जिवन बीमा कम्पनीको रुपमा सेवा प्रवाह गर्दै आएको छ ।

२०६१ साल जेठ १५ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको शिखर इन्स्योरेन्स कम्पनीले २०६१ साल कार्तिक २६ गते बीमा समितिबाट निर्जिवन बीमा सेवा प्रवाह गर्ने लाईसेन्स पाएको थियो । बीमा समितिबाट लाईसेन्स पाएको एक साताभित्रै अर्थात मंसिर २ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको थियो ।

१८ औं बार्षिकोत्सवको अवसरमा शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दिप प्रकाश पाण्डेले सबै कर्मचारी, बीमित, लगानीकर्ता, सञ्चालकहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझै सरल र छरितो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिईओ पाण्डेले १८ औं बार्षिकोत्सवको अवसरमा कम्पनीले व्यवसाय र मुनाफा मात्रै नहेरेर आम किसानहरुको उत्पादनको जोखिम बहन गर्न केन्द्रित हुँदै अघि बढ्ने बताए । सिईओ पाण्डेले भने, ‘हाम्रो ध्यान कृषि बीमामा नै हुनेछ । हो, मलाई थाहा छ, कृषि बीमामा ठूलो रकम घाटा छ, तर दीर्घकालिन रुपमा बीमाको विस्तार र देश विकासमा किसानलाई अघि बढाउन आम किसानको बीचमा हामी पुग्नै पर्छ ।’

कम्पनीले कृषि बीमालाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै सो क्षेत्रमा लगानी बढाउने समेत प्रष्ट पारेको छ । हाल शिखर इन्स्योरेन्स कम्पनीले मध्य पहाडी क्षेत्रमा कृषि क्षेत्रमा लगानी गर्दै समेत आएको छ ।

शिखर इन्स्योरेन्स कम्पनी ११ प्रतिशत बजार हिस्सा सहित आफूलाई देशकै अब्बल कम्पनीको रुपमा स्थापित भइसकेको छ । २०७२ सालमा एफपिओ जारी गरेर कम्पनीमा सर्वसाधारण र संस्थापक शेयर धनी दुवैको सहभागितामा अघि बढेको छ । कम्पनीलाई विकाश जंग बहादुर राणाको नेतृत्वमा स्थापना भएको थियो । तत्कालिन फिस्टेल एयरका मालिक राणा संस्थापक अध्यक्ष समेत हुन् । कम्पनी संस्थापना हुँदा बुद्ध एयरका सुरेन्द्र–बीरेन्द्र बस्नेत समुह, यति एयरलाइन्सका अध्यक्ष आङ छिरिङ शेर्पा, गौरव अग्रवाल, राजेन्द्र प्रसाद श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिप जंग पाण्डे, गोल्ड स्टार शुजका अमिर प्रताप जबरा लगायतकाहरु मुख्य रुपमा संलग्न थिए ।

स्थापनाको समयमा शिखर इन्स्योरेन्स कम्पनी १५ औं कम्पनीको रुपमा स्थापना भएको थियो । छोटो समयमा नै कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । कम्पनीले नेपालभर १२० भन्दा बढि शाखामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । स्वास्थ्य बीमा क्षेत्रमा क्यासलेस सेवा निकै लोकप्रिय छ भने कम्पनीको दावी भुक्तानी सेवा उत्कृष्ट छ । कम्पनीले भौतिक पूर्वाधार जनशक्तिको आधारमा समेत उत्कृष्टता प्रदर्शन गर्दै आएको छ । कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा पुल सञ्चालकको काम शिखर इन्स्योरेन्सले नै गरेको थियो । दावी भुक्तानीका लागि सरकारबाट रकम प्राप्त नभएर रोकिनु फरक कुरा तर कम्पनीले एक लाख ५० हजार भन्दा बढि दावी भुक्तानी व्यवस्थापन गर्न सफल हुनुले कम्पनीको कार्यक्षमता अभूतपूर्व रहेको देखिएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा गत वर्ष नै आन्तरिक राजश्व कार्यालय सम्मानित गरिसकेको छ । शिखर इन्स्योरेन्स देशकै उत्कृष्ट रुपमा क्रेडिट रेटिङ एजेन्सी इक्राबाट ए रेटिङ पाउन सफल कम्पनी हो । इक्रा नेपालले सन् २०२० को फ्रेबुअरीसम्मको वित्तीय विवरण विश्लेषण गरेर रेटिङ गरेको हो ।कम्पनीको जोखिम, मुनाफा र तरता लगायतका वित्तीय विवरण अध्ययन गरेर सार्वजनिक गरेको रेटिङ अनुसार शिखर इन्स्योरेन्सले ए प्राप्त गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*