हेर्दाहेर्दै जलेर खरानी बन्यो पाँच करोडका जुत्ता र कच्चा पदार्थ

कोरोना महामारीमा जोगाएको वान वल्र्ड फुटवयर आगोलागीमा खरानी बन्यो, बीमाको पहुँचमाथि प्रश्न चिन्ह खडा गर्ने त्यो आगोलागी घट्ना
२६ श्रावण २०७९, बिहीबार १०:०९

काठमाडौं । आफ्नै देशमा केही गरौं अनि जुत्तामा आत्मनिर्भर हुने अभियानमा योगदान गरौं भन्ने उद्देश्यले नुवाकोटका श्रीराम पाण्डेले काठमाडौंको बालाजुमा वान वल्र्ड फुटवयर स्थापना गरेका थिए । दुई वर्षपहिले स्थापना गरेको उद्योग हिजो भएको आगोलागीमा परेर खरानी भएको छ । काठमाडौंको टंकेश्वरीसहितका केही स्थानमा आउटलेटसहित स्थापना गरिएको जुत्ता कारखाना राम्रै चलिरहेको अवस्थामा यही साउन २५ गते विहान ११ः१५ बजेको समयमा आगो सल्कियो । तत्कालै दमकल र सुरक्षाकर्मीहरु परिचालन भए । विद्युत सर्ट भएर लागेको आगोले तीन घण्टासम्म बितण्डा मच्चाउँदा वान वल्र्ड फुटयर जुत्त उद्योग भित्र बजारमा पठाउन तयारी अवस्थामा राखिएको जुत्ता, मेशिन तथा औजार र कच्चा पदार्थ समेत पाँच करोडभन्दा बढि जलेर खरानी भए ।

सो जुत्ता उद्योगमा कार्यरत सागरले भने, ‘कामदारहरु बाहेक केही पनि बाँकी छैन ।’ हुन पनि १७ ट्याङ्कर पानी, जुद्ध बारुणयन्त्र काठमाडौं, ललितपुर, प्रहरी तथा सशस्त्र प्रहरीको दमकलसहितको प्रयासमा पनि उक्त उद्योगमा लागेको आगोबाट एउटा पनि सग्लो जुत्ता र मेशिनहरु काम लाग्ने अवस्थामा जोगाउन सकेनन् । प्लाष्टिक र रबरबाट बनेका जुत्ता गोदाममा सल्किएको आगो तीन घण्टापछि सबै खरानी बनाइसकेपछि मात्रै निभ्यो ।

आकाश छुनेगरी अग्लिएको आगोको मुस्लो निभ्मा नेपालमै केही गरौं भन्ने उद्देश्यले जुत्ता उद्योग स्थापना गरेका श्रीराम पाण्डेका बत्ति निभिसकेको थियो । कोरोना महामारीलाई जितेर अघि बढेका पाण्डेको उद्योगले विद्युत सर्ट भएर लागेको आगोबाट जोगिन सकेनन् । आगोलागीबाट उनले अहिलेसम्म आर्जन गरेको सम्पत्ति मात्रै गुमेन सोही उद्योगमा आश्रित श्रमिक भविष्य तथा आउटलेटमा के बिक्री गर्ने अर्को चिन्ता थपिएको छ ।

२०७७ सालमा फैलिएको कोरोना महामारीका बीचमा जुत्ता कारखाना स्थापना गरेका पाण्डेलाइ सुरुवाती चरणमा महामारीले निकै अप्ठेरो बनायो । पाण्डेले उक्त जुत्ता कारखानाको कुनै पनि बीमा कम्पनीमा बीमा नगरेकोले राज्यले दिने बाहेक कही कतैबाट पनि क्षतिपूर्ति लिन नसक्ने अवस्थामा छन् । हालसम्म बैंकबाट ऋण समेत नलिई एक्लै अघि बढेका जुत्ता उद्यमी पाण्डेले आगोलागीबाट सम्पूर्ण उद्योग खरानी भएपनि हिम्मत भने हारेका छैनन् । उनी फेरि अघि बढ्ने सोचमा छन् । बीमा नगरेको कारण उनको आगामी दिनको यात्रा भने चुनौतिपूर्ण त छदैछ, लगानी जुटाउने, खरानीलाई सफा गरेर नयाँ जग बसाल्नुपर्ने कठिन मार्ग तय गर्नुपर्ने चुनौति उनको अगाडि छ ।

बुधबारको घटनाले राजधानीभित्रको पाँच करोडको जुत्ता उद्योगसम्म बीमाको पहुँच पुग्न नसकेको देखिएको छ । उद्योगले बैंकबाट ऋण लिएको भए बीमा अनिवार्य भई आगोलागी पीडितले राहत पाउने थिए । तर, बैंकबाट ऋण नलिने यस्ता अरु कैयौं उद्योगहरु उपत्यकाभित्रै बीमाको दायराबाट बाहिर रहेको हिजोको घटनामा बीमा दावी नपर्नुले पुष्टि गरेको छ । यसले बीमा कम्पनीहरुको जनचेतना, बीमा सचेतना तथा बीमा कम्पनीहरु आफै व्यवसाय विस्तार भन्दा पनि बैंकहरुमा आश्रित भएको देखिन आएको तथ्यले देखाएको छ । बीमा कम्पनीहरुले काठमाडौं उपत्यकाभित्रै मात्र नभई देशैभरिका यस्ता उद्योगहरुमा बीमाको पहुँच बढाउनेतर्फ सचेत हुने हो कि ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*