एक वर्षमा मूल्यबृद्धि दोब्बर बढ्यो, उपभोक्ता मारमा

३१ श्रावण २०७९, मंगलवार १८:३७

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति (मूल्यबृद्धि) ८.०८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको गत आवको असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्याङ्कअनुसार मूल्यबृद्धि ८ प्रतिशतले बढ्न पुगेको हो ।

अघिल्लो वर्षको असार मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशतमा रहेको थियो । एक वर्षको अन्तरालमा मूल्यबृद्धि दोब्बर बढ्न पुगेको हो ।

विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यबृद्धि, आपूर्र्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८।०७९ का पछिल्ला केही महिनाहरुमा मुद्रास्फीतिमा चाप हुन पुगेको राष्ट्र बैंकले जनाएको छ । आव २०७८।७९ को सुरुवाती महिनाहरुमा न्यून मूल्यबृद्धि रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित रहेको थियो । अघिल्लो आवमा यस्तो मूल्यबृद्धि ३.६० प्रतिशत रहेको थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल, दाल तथा गेडागुडी, सूर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यबृद्धि क्रमशः २६.१३%, ९.९२%, ९.८४% र ८.५७% रहेको छ ।

साथै गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मूल्यबृद्धि क्रमशः १५.८२%, ८.७८%, ७.०९% र ६.६८% रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*