सुगौली सन्धिबाट गुमेको भूमि फिर्ता गराउने विषय चुनावी मुद्दा बनाउन दलहरूसँग ग्रेटर नेपालको माग

२ कार्तिक २०७९, बुधबार २०:०३

काठमाडौं । आगामी मङ्सिर ४ हुने आमनिर्वाचनका क्रममा प्रमुख राजनीतिक दलले आफ्ना घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको जमिन फिर्ता लिने विषयलाई समावेश गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सत्तारूढ गठबन्धन दल र प्रतिपक्षी दलसमेत गरी सात दलका सभापति तथा अध्यक्षसँग माग गरेको छ । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले तीन बुँदे ज्ञापनपत्र पठाएर दलहरुसँग राष्ट्रियताको विषय चुनावी एजेण्डा बनाउन माग गरेका हुन् । सन् १८६१ मा बेलायती कम्पनी इष्ट इण्डिया कम्पनी र नेपालका बीचमा भएको सहमति अनुसार नेपालले आफ्नो भूमि इष्ट इण्डिया कम्पनीलाई दिएको थियो । भारत स्वतन्त्र हुँदा बेलायतले नेपाली भूमि नेपाललाई फिर्ता नगरी भारतलाई सुम्पेको थियो । सोही भूमि नेपाललाई फिर्ता गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले अभियान चलाउँदै आएको छ ।

सन् १९४७ अगस्त १४–१५ देखि सुगौली सन्धिको वैधानिकता समाप्त भएको भन्ने विषयमा विगत दुई दशकदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी) , राष्ट्रिय प्रजातन्त्र पार्टी , जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सुगौली सन्धिबाट गुमेर फिर्ता हुन बाँकी ६०,००० वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग इन्डिया र बङ्गलादेशबाट फिर्ता लिने विषय आफ्नो दलको घोषणापत्रमा समावेश गर्न माग राखेर ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्रमा सन् १९४७ जुलाई १८ को ञइन्डिया इन्डिपेन्डेन्स एक्ट’ , १९५० जुलाई ३१ को ञनेपाल–इन्डिया शान्ति तथा मैत्री सन्धि’ र १९५० अक्टोबर ३० को ञनेपाल–ब्रिटेन सन्धि’ का धारा ८ का प्रावधानअनुसार ञसुगौली सन्धि रद्द भएपछि नेपालको सिमाना टिस्टा नदीदेखि सतलज नदीसम्म कायम हुन्छ, तर नेपाल, ब्रिटेन र इन्डियाले न उक्त सन्धिको पालना गरेका छन् न ऐनको । तसर्थ तपाईँहरूको राजनीतिक दलले ऐन र सन्धिबाट नेपालको अधिकारमा आइसकेको सुगौली सन्धिबाट गुमेर फिर्ता हुन बाँकी हाल इन्डिया र बङ्गलादेशमा रहेको जमिन फिर्ता लिने विषयलाई घोषणापत्रमा प्रतिबद्धताका रूपमा समावेश गरोस् भनी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा जोडदार माग र आग्रह गर्दछ’ भनिएको छ ।

तपाईँहरूको माग दलहरूले सम्बोधन गर्ने कुरामा कतिको आशावादी हुनुहुन्छ भन्ने प्रश्न गर्दा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले हाम्रो मागले दलहरूको राष्ट्रियताको परीक्षण गर्ने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*