माधव नेपाल समुहका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने सर्वोच्चको फैसला, निर्वाचनअघि नै घट्यो सिट

४ कार्तिक २०७९, शुक्रबार १८:०३

काठमाडौं । सर्वोच्च अदालतले माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टीको तर्फबाट रुपन्देही–२ प्रत्यक्षतर्फ प्रतिनिधिसभामा उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने फैसला सुनाएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी खारेजसँगै पूर्व अर्थमन्त्री तथा एमालेका नेता विष्णु पौडेललाई थप सजिलो हुने भएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै उम्मेदवारी नै रद्द गर्ने फैसला सुनाएको हो । सर्वोच्च अदालतले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेको व्यक्ति आगामी निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने ठहर गर्दै उम्मेदवारी नै खारेज गर्ने फैसला गरेको हो ।

यसअघि निर्वाचन अधिकृतको कार्यालयले गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगका निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

आजको बसहमा दुबै पक्षसँगको छलफलपछि शुक्रबार न्यायाधीश खतिवडा र रेग्मीको इजलासले गुरुङ २०७४ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र त्यसमा कुनै कानुनी उपचार प्राप्त नगरेकाले कालो सूचीमा कायम रहेको देखिएको र उम्मेदवार हुन नमिल्ने ठहर गरेसँगै उम्मेदवारी खारेज भएको हो । यससँगै कूल २० ठाउँमा प्रतिनिधिसभामा उम्मेदवारी दिएको एकीकृत समाजवादीको एक सिट उम्मेवार नै घटेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*