आज भाइटीका पर्व मनाइदै, ११ः३७ बजे उत्तम साइत

१० कार्तिक २०७९, बिहीबार ०८:४२

काठमाडौं । हिन्दुहरुको मुख्य पर्व तिहार अन्तर्गत आज महत्वपूर्ण तथा अन्तिम दिन भाइटीका लगाएर मनाइदैछ । देशैभरि मात्रै नभएर विदेशमा रहेका नेपालीहरुले दिदीले भाइलाई बहिनीले दाजुलाई टीका लगाएर मनाउने गरिन्छ । भाइबाट टीका लगाउन सुरु गरिने भएकोले यो पर्वलाई भाइटीका भनिन्छ । आजको दिनलाई भाइपुजाको रुपले समेत चिनिन्छ । कागको पुजा, कुकुरको पुजा, गाईको पुजा, लक्ष्मीको पुजा, दिपावली, गोरुको पुजापछि आज भाइपुजा गरेपछि तिहार पर्व सकिन्छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई तेलको घेरा बनाएर कहिल्यै नसुक्ने मखमली फूलको माला लगाएर दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीका पर्व मनाइदैछ । कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर खुशी साटासाट गर्ने, उपहार आदि दिने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आजको भाइटीकाको उत्तम साइत ११ः३७ बजे रहेको छ । सो समय तोकिएको भएपनि आज जुनसुकै बेला टीका लगाउन सकिने ज्योतिषशास्त्रीहरुको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*