चुनावी मैदानमा उत्रिएका १० स्थापित व्यवसायीहरु संसदमा प्रवेश, होला त व्यवसायी माग सम्बोधन ?

११ मंसिर २०७९, आईतवार १२:१८

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा १० जना भन्दा बढी व्यवसायीहरुले जित हासिल गरी सांसद बनेका छन् । नेपाली कांग्रेसबाट चुनाव लडेका धेरै व्यवसायी उम्मेदवारले चुनाव जितेका छन् भने केही ब्यवसायी उम्मेदवारले भने हारको सामना ब्यहोर्नुपरेको छ ।

त्यस्तै, केही व्यवसायी उम्मेदवार भएका क्षेत्रको मतगणना भने हालसम्म सकिएको छैन । बिजयी हुने व्यवसायीहरुमध्ये अधिकांश नेपाली कांग्रेसका उम्मेदवारहरु रहेका छन् । हालसम्म ६ जना नेपाली कांग्रेसबाट उम्मेदवार दिने ब्यवसायीले जित हासिल गरेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका व्यवसायीहरुमा अरबपति विनोद चौधरी, उदयशमशेर जबरा, डा. सुनिल शर्मा, मोहन आचार्य, दीपक खड्का, राजेन्द्र बजगाई र श्यामकुमार घिमिरे विजयी भएका छन् ।

त्यस्तै नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका एलपी साँवा, एकीकृत समाजवादीबाट कृष्णकुमार श्रेष्ठ (किसान), जनता समाजवादी पार्टी (जसपा)बाट डा. वीरेन्द्र महतो र राप्रपाबाट विक्रम पाण्डे विजयी भएका छन् ।

अधिकांश नेपाली काँग्रेज र नेकपा एमालेबाट उम्मेदवार बनेका ब्यवसायीहरुले चुनाव जितेका छन् भने अन्य केही व्यवसायी उम्मेदवार भएको क्षेत्रको नतिजा हालसम्म घोषणा भइसकेको छैन भने केही व्यवसायी उम्मेदवार पराजित भइसकेका छन् । नेपालको एकमात्र डलर अरबपति बिनोद चौधरीले नेपाली कांग्रेसको तर्फबाट नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट आफ्ना निकतटम प्रतिद्वन्द्वी जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गरेका हुन ।

चौधरीले २९ हजार ४ सय ९५ मत ल्याएका छन भने उनका निकटतम प्रतिस्पर्धी त्रिपाठीले २ हजार ३ सय ८ मत प्राप्त गरेका थिए ।
त्यस्तै ललितपुरको क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हस्तकला व्यवसायी उदय शमशेर जबरा विजयी भएका छन् । उनले २३ हजार ८९२ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नवराज सिलवालले १९ हजार २ सय ७८ मत ल्याएका थिए ।

अर्का नेपाली कांग्रेसबाटै उम्मेदवार बनेका मेडिकल व्यवसायी डा. सुनिल शर्मा मोरङ–३ बाट विजयी भएका छन् । शर्मा यसअघिको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । उनी विराटनगरको नोबेल हस्पिटल र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । शर्माले ४५ हजार ९७ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले २३ हजार ९९३ मत पाएका थिए ।

साथै नेपाली कांग्रेसबाटै उम्मेदवार बनेका निर्माण व्यवसायी मोहन आचार्यले रसुवाबाट विजयी भएका छन् । सिभिल इन्जिनियर समेत रहेका उनले विभिन्न आयोजनाको ठेक्का लिने गरेका छन् । उनले १८ हजार २३५ मत ल्याएर जित हासिल गरी जित हासिल गरेका थिए भने उनका प्रतिपस्पर्धी नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङले ८ हजार ६ सय १४ मत ल्याएका थिए ।

त्यस्तै, संखुवासभाबाट कांग्रेसका उम्मेदवार बनेका अर्का व्यवसायी दीपक खड्काले ३२ हजार १ सय ५८ मत प्राप्त गरेर विजयी भएका छन् । घरजग्गा कारोबारमा संलग्न उनी कांग्रेस संखुवासभाका सभापति पनि हुन । उनको पर्यटनका साथै जलविद्युतमा पनि लगानी छ । उनका निकटम प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद गौतमले २६ हजार ७ सय १९ मत पाएका छन् ।

पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा–१ बाट विजयी बनेका छन् । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका उनले ३३ हजार ४ सय २८ भोट पाएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका रामशरण बस्नेतले १६ हजार ७ सय ८५ मत पाएका छन् । पर्यटन व्यवसायी बजगाईंको १ अर्ब १६ करोड लगानीको होटल वर्णबास छ ।

त्यस्तै सिन्धुली १ मा कांग्रेसबाट उम्मेदवार बनेका श्यामकुमार घिमिरेले ३० हजार ३२ सय ९१ मत पाएर विजयी भएका छन् । उनी समाज डेन्टलका सञ्चालक हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीपकुमार कटुवाल क्षेत्रीले २५ हजार ५ सय ४६ मत पाएका थिए ।

यस्तै, वैदेशिक रोजगार व्यवसायी लालप्रसाद (एलपी) साँवा लिम्बुले झापा– ४ बाट विजयी भएका छन् । उनले पछिल्लो समय वैदेशिक रोजगार व्यवसाय छोडेर जलविद्युत तथा ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । उनी नेकपा एमाले निकट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष पनि हुन् । उनी २९ हजार ३ सय १५ मत ल्याएका विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवकुमार थेवेले २२ हजार ४ सय ४८ मत पाएका छन् ।

साथै एकीकृत समाजवादीबाट बारा– ४ बाट उम्मेदवार बनेका व्यवसायी कृष्णकुमार श्रेष्ठ (किसान) विजयी भएका छन् । उनले २० हजार २ सय ९७ मत पाएर जितेका हुन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका एकवाल मियाँले १३ हजार ८ सय ६३ मत पाएका छन् । किसान पूर्वम्यानपावर व्यवसायी हुन् ।

त्यसैगरी अर्का व्यवसायी डा. वीरेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट सिरहा क्षेत्र नम्बर ४ विजयी भएका छन् । डा. महतो एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोका भाइ हुन् । महतोको पनि आफ्नै विभिन्न व्यवसाय रहेको छ । उनी माछापुछ्रे बैंकका अध्यक्ष पनि हुन् । महतोले २४ हजार १०२ मत ल्याएर निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहलाई हराएका हुन् । निकटतम प्रतिस्पर्धी शाहले १६ हजार २९४ मत पाएका थिए ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चितवन क्षेत्र नं. ३ मा उम्मेदवार बनेका निर्माण व्यवसायी विक्रम पाण्डे विजयी भएका छन् । उनले ३५ हजार ५५ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८ सय २२ मत पाएका छन् । पाण्डेको कालिका कन्स्ट्रक्सन, कालिका एफएम, कालिका पावर कम्पनी र कालिका टावर लगायतमा लगानी रहेको छ ।

केही व्यवसायी उम्मेदवार भएका क्षेत्रको मतगणना अझै सम्पन्न भइसकेको छैन । रामेछापबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार अर्का निर्माण व्यवसायी पूर्णबहादुर (कान्छाराम) तामाङले ३७ हजार ६६१ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले २७ हजार २५४ मत पाएका छन् ।

केही क्षेत्रको मतगणना क्रम अझै जारी छ । केही स्थानको मतगणनामा यस्ता ठूला ब्यवसायीहरु अग्रतामा रहेका छन् भने केही चर्चित ब्यवसायीहरु पराजित बनिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*