बृहद कम्युनिष्ट एकता गर्न बिप्लवको प्रस्ताव, ‘दलाल पुँजिवादी व्यवस्थाको अन्त्य गरौं’

१३ मंसिर २०७९, मंगलवार १६:१३

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र बिक्रम चन्द बिप्लवले बृहद कम्युनिष्ट एकता आवश्यकता भएको भन्दै भिडियो सन्देशमार्फत विदेशी षडयन्त्रका विरुद्धमा लड्न सबै कम्युनिष्ट पार्टीहरु बृहद एकता प्रस्ताव अघि सारेका हुन् ।

भिडियो सन्देशमार्फत भनेका छन्, ‘कम्युनिष्ट जनमतलाई टुटफुट बनाउने, निराश बनाउने, वैज्ञानिक समाजवाद चाहने परिवर्तन प्रेमी जनतालाई निराश बनाउने खेलहरु भइरहेको छ ।’ उनले झापा विद्रोह, जनयुद्धदेखि आजको परिवर्तनसम्ममा योगदान पुर्याउने सबै कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्न आह्वान गरेका हुन् ।

उनले भनेका छन्, ‘हामी अपिल गर्न चाहन्छौं, नेपाललाई पश्चिम बंगाल बनाउने, प्रयोग गर्ने, संसदीय पुच्छरमा कम्युनिष्टहरुलाई घिसारेर अन्ततः कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरुलाई परिवर्तन र क्रान्तिको चेतनाबाट बिसर्जित गर्ने खेलहरु षडयन्त्रहरु भइरहेका छन् । हामी सचेत हुनुपर्दछ । आजको विश्वको विविधता, विभेद, उत्पीडन, सारा अस्थिरताकोकारा भुमण्डलीकृत पुँजिवाद र दलाल पुँजिवाद हो । जहिलेसम्म विश्वमा पुँजि बर्ग, मुठ्ठीभर पुँजिपति बर्गको रजाई, अधिनायकत्व र सत्ता चल्छ त्यहिलेसम्म विश्वले कहिले पनि शान्ति पाउने छैन । नेपालमा पनि जहिलेसम्म मुठ्ठी दलालहरुको सत्ता र अधिनायकत्व लादिन्छ चल्छ त्यहिलेसम्म नेपालमा देशभक्त श्रमिक जनताले कहिले पनि शान्ति पाउने छैनन् ।’ नेपालमा दलाल पुँजिवादको अन्त्य र वैज्ञानिक पुँजिवादको स्थापना नभएसम्म जनताले न्याय पाउन नसक्ने बताउँदै अध्यक्ष चन्दले बृहद कम्युनिष्ट एकता आवश्यकता औल्याएका हुन् ।

भारतीय साम्राज्यवादले नेपालमा दलालहरुको सत्ता लाद्ने खेल गरिरहेको छ । तत्कालै प्रतिकार जरुरी छ । अध्यक्ष चन्दले भनेका छन्, जुनसुकै अनुहारका दलाल पुँजिवादी तत्वहरु आए पनि चाहे नयाँ अनुहारमा हुन् वा चाहे पुरानै अनुहारका हुन्, नेपाली जनताको लागि कुनै अर्थ हुने छैन । आखिर बिष बिष नै हो । बिषले कहिले पनि जनताको हितमा काम गर्न सम्भव छैन ।

मुलुकमा फैलदो घण्टी अभियानबार पनि उनले टिप्पणी गरेका छन् । बिप्लवले यही शासन व्यवस्थामा रहेसम्म नयाँ पुरानो जुनसकै दलहरु आएपनि जनताको लागि कुनै काम नहुने उनले दावी गरेका छन् ।

अध्यक्ष चन्दले अब कम्युनिष्ट पार्टीहरु मात्रै होइन, कम्युनिष्ट नागरिकहरु हामी सबै एकताबद्ध हुनुपर्ने समय आएको बताए । ‘हामी सचेत हुन जरुरी छ, समीक्षा गरौं, सबै क्रान्तिकारी साथीहरु, जनसमुदायहरुले स्वच्छ ढंगले सोच्नुपर्ने, समीक्षा गर्नुपर्ने बेला आएको छ । शुद्ध मननले, पवित्र चाहनाले नेपाललाई नयाँ युगमा पुर्याउने विषयमा समीक्षा गरौं, दलाल पुँजिवादीहरुको षडयन्त्रलाई च्यातच्यूत पारौं, नयाँ शासन व्यवस्था स्थापना गरौं ।’

अर्थमन्त्री जनार्दन शर्मामाथि दलाल पुँजिपति बर्गसँग मिलेर सेटिङ गरेको आरोप लागेको बेला लगत्तै नेकपाका विद्रोही नेता नेता बिप्लवको यस्तो अभिव्यक्ति आएको हो ।

https://www.facebook.com/100087220715576/videos/1200824217310264

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*